काठमाण्डौ । संख्याका हिसाबले सर्वाधिक बढी नेपाल भित्रिने पर्यटक भारतीय भएको विभिन्न तथ्यांकले देखाइरहँदा बजेटमा आधारित पर्यटकको संख्या उच्च भएकैले भारतीय पर्यटक नेपालमा न्यून प्राथमिकतामा पर्दै आएको सर्वविदित्तै छ। त्यसविपरीत असोज २० गते शनिबार ८० भन्दा बढी भारतीय पर्यटकले जाहाज नै चार्टर गरेर माउन्टेन फ्लाइटको आनन्द उठाए। 

यती एयरलाइन्सका दुई एटीआर ७२ विमान चार्टर्ड गरेर माउन्टेन फ्लाइटमार्फत नेपालका विभिन्न हिमशृखंलाको अवलोकन भ्रमण गरेका ती भारतीय पर्यटक एकप्स सिस्टम इन्डियाका संस्थापक तथा पार्टनरहरु हुन्। काठमाण्डौको ह्यात होटेलमा तीनदिने कर्पोरेट कन्फ्रेन्समा सहभागी हुन विभिन्न भारत तथा यूएईमा रहेको एकप्सको कार्यालयबाट आएका भारतीय नागरिकहरुले यो माउन्टेन फ्लाइटको अनुभव लिएका हुन्। 

विभिन्न किसिमका घटनाबाट नेपालका हवाई क्षेत्र खस्किँदो अवस्थामा रहेको बेलामा हाई प्रोफाइल भारतीय पर्यटकको यो माउन्टेन फ्लाइटमा रहेको यो विशेष चासोले नेपालको उड्डयन तथा पर्यटन क्षेत्रमा ठूलो सकारात्मक सन्देश प्रवाह गरेको छ। यसले नेपालको हवाई क्षेत्र माथि विश्वासनियता बढेको छ भने छोटो समयमा पर्यटकीय गन्तव्यको सहज अनुभव हासिल गर्न सकिने माउन्टेन फ्लाइटका बारेमा समेत थप प्रवर्द्धन मिलेको छ।

यो चार्टर अपरेसनको जिम्मा लिएको सस्तो टिकेट्स डट कमका अकाउन्ट म्यानेजर मनिस महर्जनले कुनै एकै कम्पनीको अगुवाइमा एकैपटक माउन्टेन फ्लाइटका लागि दुईवटा विमान नै चार्टर भनेको नेपालको यो पहिलो अवसर भएको बताउँदै यसबाट नेपालको पर्यटकीय सम्भावना असीमित भएको प्रमाणित भएको पनि प्रस्ट पारे। यहाँ स्मरणीय छ सस्तो टिकेट्स डट कम नेपालको सर्वाधिक ठूलो अनलाइन ट्राभल एजेन्सी पनि हो। नेपाली सीप र प्रविधिमा आधारित यो अनलाइन ट्राभल एजेन्सीमार्फत सस्तो मूल्यमा जुनसुकै गन्तव्यका लागि टिकेट काट्न सकिन्छ भने यसको पोर्टलबाट विभिन्न किसिमका ट्राभल प्याकेज पनि खरिद गर्न सकिन्छ।

यो चार्टर उडानका लागि यती एयरलाइन्सले छोटो सूचनामा विमान उपलब्ध गराउन सकेकोमा एकप्सका तर्पबाट वृजेश बर्माले यती एयरलाइन्सलाई धन्यवाद दिए। उनले भने, ‘यो उडान मेरा र हाम्रा सबै यात्रुका लागि जीवनकै अविष्मरणीय अनुभव थियो। हामी विश्वको सर्वोच्च शिखर सगरमाथाको यति नजिक थियौँ कि त्यो अनुभव शब्दमा वर्णन गर्नै सकिँदैन।’