काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनःस्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १ करोड रुपैयाँ सहयोग गरेको छ । 

कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । 

गत कात्तिक १७ गते गएको जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पका कारण १५७ जनाको ज्यान गएको थियो । भूकम्पका कारण थुप्रै घरहरू क्षतिग्रस्त भएकोमा दु ख व्यक्त गर्दै कम्पनीले जारी गरेको विज्ञप्तिमा जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेको उल्लेख छ ।

यसैगरी, विज्ञप्तिमा भूकम्प गएको भोलिपल्टै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतका तत्काल राहत सामग्री पुर्‍याएको पनि उल्लेख छ ।