भैरहवा । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानसहित तीनवटा विद्यालय र वृद्धाश्रमलाई सहयोग उपलब्ध गराएको छ।

नेत्र बिज्ञान अध्ययन संस्थानलाई १ लाख ३ हजार ३३३ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो। अस्पतालमा आउने गरिब तथा विपन्न नागरिकलाई आँखा उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।

संस्थाका सञ्चालकद्वय प्रदीपकुमार सुद्रनिया र अभिषेक बेरिवालले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सागरप्रताप राणालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे। सो अवसरमा अध्यक्ष राणाले भैरहवाको आँखा अस्पताल सबैको सहयोगबाटै बनेको र मनकामना स्मार्ट लघुवित्तले उपलबध गराएको सहयोग सही काममा प्रयोग हुने बताए। उनले आँखा अस्पतालले नेपालका दुर्गम क्षेत्रमा समेत स्वास्थ्य सेवा प्रदान गरिरहेको बताए।

कार्यक्रममा मनकामना स्मार्ट लघुवित्तका प्रमुख कार्यकारी अधिकृत देवसिंह बिष्टले संस्थाले व्यवसायसँगै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।

संस्थाले रुपन्देहीको ओमसतिया गाउँपालिकामा रहेको सत्यसाई बृद्धाश्रमलाई पनि ३४ हजारभन्दा बढीको शुद्ध खानेपानी फिल्टर तथा अन्य आवश्यक भाँडाकुँडा उपलब्ध गराएको छ। संस्थाका सञ्चालकद्वय प्रदीपकुमार सुद्रनिया र अभिषेक बेरिवालले वृद्धाश्रमका अध्यक्ष माया खरेल र ब्यवस्थापक केशव पौडेललाई उक्त सहयोग हस्तान्तरण गरेका थिए।

त्यसैगरी संस्थाले तिलोत्तमा नगरपालिका–९ स्थित विश्व शान्ति सामुदायिक आधारभूत विद्यालयलाई ४६ हजार २०० रुपैयाँको शुद्ध खानेपानीका लागि फिल्टर प्रदान गरेको छ। संस्थाका सञ्चालक अच्युत पन्तले रोटरी क्लब अफ मणिग्रामको संयोजनमा विद्यालयका प्रधानाध्यापक डोलराज पाण्डेलाई फिल्टर हस्तान्तरण गरेका हुन्।

संस्थाले दाङको माध्यमिक विद्यालय जजरागाउँ घोराहीलाई पनि १ लाख ५ हजार रुपैयाँको शुद्ध पिउने पानी फिल्टर मेशिन उपलब्ध गराएको छ। 

यसैगरी सरस्वती प्राथमिक विद्यालय सुक्रौलीलाई पनि ३५ हजार ५ सय रुपैयाँको शुद्ध पिउने पानी छान्ने फिल्टर उपलब्ध गराइएको जनाएको छ।
भैरहवामा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाले लुम्बिनी प्रदेशअन्तर्गतका जिल्लाहरुमा सेवा प्रदान गर्दै आएको छ।