काठमाण्डौ । धार्मिक एवं पर्यटकीय क्षेत्र मनकामना बजार डिजिटल बजारका रुपमा स्थापित भएको छ। योसँगै अबदेखि मनकामना मन्दिरसँगै मनकामना क्षेत्रका कुनै पनि पसलमा क्यूआरमार्फत भुक्तानी गर्न सकिनेछ।

एक कार्यक्रमबीच शुक्रबार मनकामना बजारलाई डिजिटल बजारका रुपमा घोषणा गरिएको हो। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं भुक्तानी प्रणाली विभाग प्रमुख गुरुप्रसाद पौडेलले मनकामना बजारलाई डिजिटल बजारका रुपमा उद्घाटन गरे। एनएमबि बैंक र फानपेको सक्रियतामा डिजिटल बजारका रुपमा घोषणा गरिएको हो। 

डिजिटल बजार घोषणा कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी, फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, सहिद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति, मनकामना जीर्णोद्धार समिति, मनकामना मन्दिरका मूल पुजारी, उद्योग वाणिज्य संघ इकाइ समिति, खानेपानी तथा सरसफाइ समिति, माई मनकामना बचत तथा ऋण सहकारी संस्था साना किसान बचत तथा ऋण सहकारी संस्थालगायत स्थानीय व्यवसायी तथा समाजसेवीको उपस्थिति थियो।  

फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक हो। फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन्। 

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ। 

यसैगरी फोनपे डाइरेक्टमार्फत मोबाइल नम्बर राखी कुनै पनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ। 

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्। यस्तै फोनपेमा हालसम्म करिब १० लाखभन्दा धेरै मर्चेन्ट रहेका छन्। १ करोड  ५० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइ एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ। 

एनएमबि बैंकले हाल देशभरि २०१ शखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।