काठमाण्डौ ।नेपालकै पहिलो केबुलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिले २५औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । 

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना देवीको मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरेको छ ।  यसैगरी, सोही दिन केबलकारको तल्लो स्टेसन चेरेशमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ ।

रक्तदानमा कम्पनीका कर्मचारी लगायत मनकामना दर्शन गर्न आएका भक्तजन पनि सहभागी थिए । विगत २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गर्दै आएको उक्त कम्पनीले माता मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना र गोरखाको सहिद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न योगदान गरेको छ । 

केबुलकार टिकटबाट भएको वार्षिक आम्दानीको एक–एक प्रतिशत हिस्सा यी दुई गाउँपालिकालाई उपलब्ध गराउँदै आएको पनि कम्पनीले बताएको छ । कम्पनीका अनुसार उक्त रकमबाट दुवै गाउँमा स्वास्थ्य र शिक्षाका साथै खानेपानी, सडक जस्ता पूर्वाधार विकासमा खर्च गर्ने गरिएको छ ।