काठमाण्डौ । विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ को नारालाई आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट सञ्चालन गर्दै आइरहेको छ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको बेलौरी शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महाकाली बहुमुखी क्याम्पस बेलौरीलाई १७० थान गमला सहयोग गरेको छ। क्याम्पस प्राँगणमा आयोजित एक कार्यक्रमबीच क्याम्पसलाई गमला प्रदान गरिएको बैंकको बेलौरी शाखाका शाखा प्रबन्धक रामबहादुर विकले जानकारी दिए। क्याम्पसको शैक्षिक गुणस्तरमा टेवा पुर्याउने र स्वच्छ, मनोरम वातावरणमा शैक्षिक गतिविधि सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले क्याम्पसलाई गमला वितरण गरिएको विकले बताए। 

कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष हरेन्द्रसिंह विष्टले क्याम्पसको पर्यावरणीय सौन्दर्यता थप्नका निम्ति फूलका गमला दिई सहयोग गरेकोमा महालक्ष्मी विकास बैंकले गरेको कार्यको खुलेरै प्रशंसा गरे। 

आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ। 

बैंकले प्रदेश नं. १ मा ५, प्रदेश नं. २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ। 

बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ। समग्रमा चिप बेस्ड ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एकमात्र विकास बैंकमा महालक्ष्मी रहेको छ।