काठमाण्डौ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रम सम्पन्न भएका छन्।

बैंकको बानेश्वर शाखाद्वारा काठमाण्डौ महानगरपालिका–३२ सुविधानगरस्थित तीनकुने टोल सुधार समितिलाई ५० थान डस्टविन हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ। काठमाण्डौ महानगरपालिका–३२ भित्रको फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाण्डौ बनाउन मद्दत पुर्याउने उद्देश्यले बैैंकले उक्त सहयोग प्रदान गरेको हो। 

बानेश्वर शाखाका प्रमुख विकाश रावलले तिनकुने टोल सुधार समितिका अध्यक्ष विश्वराज कार्कीलाई सामग्री हस्तान्तरण गरेका थिए। 

त्यसैगरी बैंकको वीरगंज शाखाद्वारा अलखिया मठ सञ्चालक समितिलाई खानेपानीको ट्याङ्की तथा डस्टबिन हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ। अलखिया मठमा दर्शन गर्न आउने दर्शनार्थी तथा भक्तजनहरुका लागि खानेपानीको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले बैंकले समितिलाई उक्त सहयोग गरेको हो। वीरगन्ज शाखाका प्रमुख पुरुषोत्तम अधिकारीले अलखिया मठ सञ्चालक समितिका अध्यक्ष सुपेन्द्रबहादुर श्रेष्ठलाई सामग्री हस्तान्तरण गरेका थिए। 

यस्तै बीचबजार धादिङ शाखाद्वारा नीलकण्ठ नगरपालिका–७ स्थित कर्णेश्वर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्री हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ। विद्यालयमा अध्ययनरत गरीब, तथा न्यून आयस्रोत भएका परिवारका बालबालिकामध्येबाट गरिब तथा जेहेन्दार ५ जना विद्यार्थीलाई शैक्षिक आवश्यकता पूरा गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले उक्त छात्रवृत्ति प्रदान गरेको हो। बीचबजार धादिङ शाखाका प्रमुख खिल प्रसाद सिलवालले विद्यालयका प्रधानाध्यापक विष्णुहरि अधिकारीलाई छात्रवृत्तिबराबरको रकमको चेक हस्तान्तरण गरेका थिए। 

आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैैकले जनाएको छ।