काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले शताब्दी पुरुष सत्यमोहन जोशीको लोकसाहित्य विकासप्रतिको चाहनालाई सम्मान गर्न उनीद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशानार्थ सहयोग प्रदान गरेको छ। 

भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न स्वर्गीय जोशीबाट पुर्याइएको योगदानको कदर गर्न तथा उनले जीवनकालमा राखेको चाहनालाई मूर्त रुप प्रदान गर्न बैंकले पुस्तक प्रकाशानार्थ संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको हो। 

लोक कथा तथा लोकगित संकलन गर्ने, लोक साहित्य संस्कृति तथा कलासम्बन्धी अध्ययन–अनुसन्धान गरी पुस्तक प्रकाशन गर्नेजस्ता कार्यमा सक्रिय प्राज्ञिक तथा साहित्यिक संस्था लोकसाहित्य परिषद् बखुंबहाल, ललितपुरको अगुवाइमा वांगमय शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा रचित पुस्तक चखुंचां हाःगु म्ये (भंगेराले गुनगुनाएको गीत) उनको १०४ औँ जन्मजयन्तीका अवसरमा वैशाख २७ गते बेलुका ५ बजे बैंकको उपस्थितिमा एक समारोहबीच लोकार्पण भएको थियो।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि निरन्तर रुपमा विभिन्न सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।