काठमाण्डौ । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेड आज जेठ ७ गतेदेखि २९ औँ वर्षमा प्रवेश गरेको छ। 

वार्षिकोत्सवका अवसरमा बैंकले आफ्ना १०३ वटा शाखामा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गर्नुका साथै २९ वटा शाखाहरुमार्फत रक्तदान कार्यक्रम, सम्पूर्ण कर्मचारीहरुको संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता र्याली, सम्पूर्ण शाखा कार्यालयहरुमा केक कटिङ कार्यक्रम, महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२३, शृंखला २ लगायत विभिन्न काार्यक्रमहरुको आयोजना गरेको छ। 

बैंकले वार्षिकोत्सवका अवसरमा २९ वटा शाखामार्फत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। केन्द्रीय कार्यालयमा दरबारमार्ग शाखाको सक्रियतामा जेठ ५ गते, शुक्रबार बिहान ११ः३० देखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ। 

त्यस्तै शाखा, प्रादेशिक तथा केन्दि«य कार्यालयका कर्मचारीहरुको सहभागितामा काठमाण्डौमा र सम्पूर्ण प्रादेशिक कार्यालयहरुका (८ वटा) विभिन्न स्थानहरुमा शाखा तथा प्रादेशिक कार्यालयका कर्मचारीहरुको सहभागितामा जेठ ६ गते, शनिबार बिहान ७ः३० देखि ८ः३० सम्म वित्तीय साक्षरताका निम्ति प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ। उक्त प्रभातफेरीमा बैंकिङ सेवाहरुः जस्तै मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो।

त्यसैगरी वार्षिकोत्सवका अवसरमा गत बर्षदेखि सुरुआत गरिएको महालक्ष्मी कर्पोरेट क्रिकेटको दोश्रो शृंखला (महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२३, शृंखला २) १६ टिमको सहभागितामा बैैंकले जेठ २०, २१ र २२ गते सञ्चालन गर्नेछ। बैंकले देशभर रहेका शाखाहरुमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषामा बैंकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम गरेको थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा ग्राहक, शुभचिन्तक, नियामक निकाय एवं सेयरधनीको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनका लागि हार्दिक कृतज्ञता व्यक्त गरे। उनले ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच सारा नेपाली जनतामाझ पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गरे।