काठमाण्डौ । महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उद्देश्यले नबिल बैंक, सीएनआई–वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्र नेपालबीच त्रिपक्षीय सम्झौता भएको छ।
नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रधान कार्यालय थापाथलीमा गरिएको उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, वुमन लिडरसिप फोरमका तर्फबाट संयोजक छाँया शर्मा र महिला शक्ति विकास केन्द्र नेपालका तर्फबाट कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरेका छन्।
हस्ताक्षर कार्यक्रममा नबिल बैंकका प्रमुख कार्येकारी अधिकृत शाहले महिलाको वास्तविक शक्ति भनेको आर्थिक सशक्तीकरण रहेको र महिलाहरुको आर्थिक विकासका लागि यो सम्झौता माध्यम बन्ने आशा व्यक्त गरे।
कार्यक्रममा भर्चुअल्ली उपस्थित भएका सीएनआईका उपाध्यक्ष निर्वाण चौधरीले वुमन लिडरसिप फोरमलाई बैंक र महिला शक्ति विकास केन्द्र नेपालबीच पुलको काम गरेकोमा धन्यवाद ज्ञापन गर्दै यो सम्झौताले महिलाको आर्थिक विकाससँगसँगै देशको दिगो विकासमा ठूलो टेवा पुर्याउने बताए।
वुमन लिडरसिप फोरम अर्थतन्त्रमा महिलाको भूमिका अभिवृद्धि गर्ने उद्देश्यले सीएनआईले गरेको एउटा पहल हो। स्थापनादेखि ‘महिला नेतृत्व विकास’को मूल नारा बोकेको महिला शक्ति विकास केन्द्र नेपाल एउटा गैरसरकारी संस्था हो। जसले देशैभरि महिला सशक्तीकरण र महिला नेतृत्वको विकाससम्बन्धी कामहरु गर्दै आइरहेको छ।
नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुआत गरेको हो। बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यावसायीकरण र उद्यमशीलता विकासका लागि ल्याएका यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाबाट सञ्चालन गर्दै आएको छ। यो सम्झौतामार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षित वर्गमा पुर्याउन सहयोग गर्ने आशा लिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19