काठमाण्डौ । बजारमा अभाव सिर्जना भएको बेला, सर्वसाधारणको दैनिकीमा सकस परिरहेको बेला नै आफ्नो व्यापार फस्टाएको देख्ने कतिपय व्यापारी व्यवसायीको पुरानै रोग हो । जब-जब अभाव सिर्जना गरिन्छ, तब-तब भित्रभित्रै कालोबजारी सुरु हुन्छ र सर्वसाधारणमाथि महङ्गीको भारी थोपरिन्छ । 

हिजोको दिनमा भारतले नाकाबन्दी लगाउँदा समेत सरकारको कमजोर अनुमगन संयन्त्रको फाइदा उठाउँदै कतिपय प्रतिष्ठित व्यापारीकै फर्महरुले कालोबजारीको धन्दा गरे । 

अहिले पुनः कोरोना भाइरसको संक्रमणको त्रास फैलाएर बजारमा अत्यावश्यक चिजवस्तुहरुको कृत्रिम अभाव सिर्जना गर्न थालिएको छ।

सर्वसाधारणमा सचेतनाको नामा अनावश्यक हौवा र भ्रम फैलाएर बजारको अवस्थालाई निकै ‘प्यानिक’ बनाइएको छ । 

पछिल्लो समय बजारमा एलपी ग्यासदेखि खाद्यान्नका आइटममा समेत अभावको खेल सुरु भइसकेको छ । औषधिमा समेत यस्तै अभावको अवस्था देखिन थालेको व्यापारी बताउँछन् भने भाइरसको संक्रमण हतपत हुन नदिने भनिएको मास्कमा त निकै ठूलो कालोबजारी भइरहेको छ । भलै, विश्व स्वास्थ्य संगठनले मास्क लगाउँदैमा भाइरस सर्दैन भन्ने कुनै ग्यारेण्टी नभएको प्रष्ट पारिसकेको छ । 

बजारमा आफूसँग उपलब्ध मास्क समेत लुकाएर मूल्य बढाउने काम भए पनि यसको विषयमा कसैले अनुगमन गरेको छैन । कतिपय व्यापारीले नेपालका खुद्रा मेडिकल पसलहरुमा उपलब्ध मास्क संकलन गरेर कोरोना संक्रमणको केन्द्रविन्दू चीन समेत निर्यात गरेका छन् । 

मास्कको मूल्य रातारात अचाक्ली बढाइएको छ । सर्वसाधारणले ५ रुपैयाँमा किन्न सक्ने सामान्य पेपर मास्कको मूल्य समेत बढाएर ५० रुपैयाँभन्दा माथि पुर्याइसकिएको छ । खुलेआम अभाव सिर्जना गरी मूल्य बढाउने खेल हुँदा समेत सरकारी निकायले भने नियन्त्रणको भरपर्दो प्रयास गरेको छैन । 

बजारमा मास्कको हाहाकार मच्चिरहेकै बेला नेपाल चेम्बर अफ कमर्सले केही व्यापारीसँग मिलेर मास्क बनाउने मेसिन भित्र्याउने तयारी गरेको छ । त्यसअघि पनि चेम्बरले केही उद्योगसँग सहकार्य गरी मास्क उत्पादन थालिसकेको छ । 

चेम्बरका अधिकारीहरुले माक्सको अभाव हटाउन यस्तो काम सुरु गरिएको र आफूहरुको लागतभन्दा पनि कम मूल्यमा त्यस्ता मास्क उपलब्ध गराउने दाबी समेत गरिरहेका छन् । 

चेम्बर अफ कमर्सको यस्तो राम्रो कामको कुरा सुनेर तपाई पनि नतमस्तक बन्नु भयो होला । तर, यथार्थ केही फरक छ । चेम्बरले चरम अभाव सिर्जना भएको बजारबाट राम्रै नाफा कमाउन २ व्यवसायीसँग मिलेर मास्क बनाउने मेसिन भित्र्याउन लागेको भित्री मनाशय देखिएको छ ।  

करिब ५० लाख रुपैयाँमा भित्र्याउन लागिएको मास्क बनाउने मेसिनबाट उत्पादित माक्सको मूल्य साढे ८ रुपैयाँको हाराहारीसम्म पर्ने चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताए । उनले सो मूल्यमा पटक-पटक जोड दिई त्यो पनि परलभन्दा कममा बेच्दाको अवस्थामा यति पर्ने भनिरहेका थिए । उनको यो कुरा सुनेका धेरैलाई चेम्बरले सामाजिक कार्य गर्न लाग्यो भन्ने पनि भयो होला । तर, यसको यथार्थ पनि केही फरक देखिएको छ। 

चेम्बर निजी क्षेत्रको निकै बलियो संगठन हो । यो संस्थामा वार्षिक करोडौंको व्यापार गर्ने व्यापारीहरु जोडिएका छन् । यो संस्थाले चाह्यो भने ती व्यापारीसँग सहयोग मागी देश र जनतालाई परेको बेला पुण्य काम गर्ने उद्देश्यले ५० लाखको मेसिन ल्याएर २–३ महिना मास्क उत्पादन गरी निःशुल्क बाँडिदिने समेत ल्याकत राख्छ । तर, यी सबै संभावनालाई छाडेर चेम्बरले अभावकै बेला कमाउने उद्देश्यले मास्कको व्यापार गर्न लागेको हो । 

कसरी कमाउँछ त ? 
सामान्य अवस्थामा चेम्बरले उत्पादन गर्ने भनिएको फोर लेयर्सवाला पेपर
मास्कको मूल्य अत्यन्त न्यून रहेको थियो । जस्तो, एक प्याकेटमा ५० वटा पिस यस्तो मास्क हून्थ्यो, जसको थोक मूल्य १२० रुपैयाँ पथ्र्यो । यसको अर्थ भारत वा चीनमा बनेको मास्क नेपाली व्यापारीले प्रति गोटा २ रुपैयाँ ४ पैसामै पाउँथे भन्ने हो । अरु देशमा बनेको मास्क नै नेपाल ल्याउँदा प्रति थान २.४ रुपैयाँ पथ्र्यो भने चेम्बरले के आधारमा नेपालमै मेसिन ल्याएर बनाइने मास्कको मूल्य ८.५ रुपैयाँ पर्छ भनिरहेको छ ? यसरी हेर्दा चेम्बरले सामाजिक कार्य वा उत्तरदायीत्वको आडमा एउटा मास्कबाट सोझै ६ रुपैयाँ नाफा कमाउन खोजेको प्रष्टिन्छ । 

चेम्बरकै अधिकारीहरुका अनुसार उनीहरुले भित्र्याउने मेसिनले एकदिनमा २ सिफ्टमा काम गर्दा २० हजार मास्क उत्पादन गर्न सक्छ । घरेलु माग उच्च भएकोले एकैदिनमा १५ हजार मास्क नै खपत भयो भने पनि चेम्बरले दैनिक ९० हजार रुपैयाँ नाफा कमाउने देखिन्छ । 

मास्क तयार गर्ने मेसिनको लागत छोटो समयमै उठाउने उद्देश्य हो भने त अलग्गै कुरा भयो, तर देश र नागरिकलाई साच्चिकै गाह्रो परेको कुरामा सहजता ल्याउन मेसिन स्वदेशमै ल्याएर मास्क उत्पादन गर्न खोजिएको हो भने चेम्बरले दिउँसै रात पार्ने कुरा गरेको देखिन्छ । 

चेम्बरले एक्लैको लगानीमा मास्क बनाउने मेसिन ल्याउन लागिएको होइन । यसमा दीपक मल्होत्रा र निम्बस समूहका आनन्द बगडियाको लगानी रहने चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी गराएका छन्। 

मल्होत्रा, बगडिया र चेम्बर मिलेर सेन्सरका आधारमा ज्वरो नाप्ने टेम्पेरेचर गनको समेत व्यापार सुरु भएको छ । यस्तै, सेनिटाइजरको अभाव टार्न समेत यो समूहले आयात सुरु गरिएको जनाएको छ । 

आइतबार चेम्बरमै आयोजित पत्रकार सम्मेलनमा त्रिभुवन विमानस्थलस्थित हवाई उड्डयन कार्यालय, स्वास्थ्य सेवा विभाग लगायतका सरकारी निकायलाई चेम्बरले केही थान टेम्पेरेचर गन, केही थान मास्क, केही थान सर्जिकल गाउन, केही थान प्राइम किन प्रिमियम सेट, केही थान एप्रोन क्याप, ह्याण्ड ग्लोब, रेक्टीफाइन स्प्रीट बीपी लगायतका सामाग्री हस्तान्तरण समेत गरेको छ । 

चेम्बरले सरकारी निकायलाई केही थान मेडिकल उपकरण सहयोग गरेजस्तो गरी माक्सको व्यापार जमाउन खोजेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरुले टिप्पणी गरेका थिए । दृश्यहरु समेत त्यस्तै देखिन्थ्यो । सरकारी निकायलाई केही थान उपकरण हस्तान्तरण गरेको चेम्बरले सर्वसाधारणलाई समस्या परेको बेला ‘फ्रीमै मास्क उपलब्ध गराउँछौ’ भन्ने आँट भने देखाउन सकेन । 

सोही कार्यक्रममा सहभागी एक सरकारी अधिकारीले नाम उल्लेख नगर्ने भन्दै बिजशालासँग भने–‘चेम्बरले यस्तो घोषणा गरेको थियो भने उसको लागतमा सरकारले समेत केही योगदान दिन सक्थ्यो, चेम्बरले संस्थागत रुपमा अनुरोध गरेको भए व्यवस्थापन उनीहरुले हेर्ने गरी सरकारले नै त्यस्ता मेसिन आयातको व्यवस्था मिलाउन सक्थ्यो ।’ तर, यी संभावनातर्फ नहेरी चेम्बर र केही व्यापारी मिलेर मेसिन भित्र्याई समस्यामा परेकै बेला कमाउने बदनियत राखेको देखिने ती अधिकारीले बताए । ‘हामीले त केही बोल्न मिलेन, तर सरकारले यो विषयमा छानबिन गर्नुपर्छ ।’ ती अधिकारीले भने–‘सर्वसाधारणको पीडामा व्यापार र नाफा देख्नु नै गलत नियत हो ।’

कुनै व्यापारीले व्यापार गर्न खोजेको हो भने उसले नाफा हेर्नु स्वभाविक हो । व्यापार गर्न पाउनु उसको अधिकार हो । तर, चेम्बरजस्तो संस्थाको ब्यानर प्रयोग गरी त्यसकै आडमा सामाजिक उत्तरदायीत्व निर्वाह गरेजस्तो देखाएर व्यापार गर्नु अनैतिक काम हो । अर्को, यस्तो प्रतिष्ठित संस्थाले विदेशमा उत्पादन भएर आएको प्रडक्टको तुलनामा २४० प्रतिशत बढी मूल्य राखेर समाज सेवा वा सामाजिक उत्तरदायीत्व पूरा गरेको भ्रम छर्नु गैरजिम्मेवारीपनको परकाष्ठा हो ।