काठमाण्डौ । मारवाडी सेवा समितिले १९औं एसियाली खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ ।
समितिले क्रिकेटतर्फ दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल र करातेतर्फ एरिका गुरुङलाई जनही १ लाख १ हजार नगदसहित सम्मान गरेको हो ।डेढ महिनाअघि चीनको हाङझाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा दीपेन्द्र र कुशलले कीर्तिमानी प्रदर्शन गरेका थिए । उक्त प्रतियोगीतामा दीपेन्द्रले ९ बलमा अर्धशतक र कुशलले ३४ बलमा शतक प्रहार गरेका थिए। 
 
एरिकाले करातेमा नेपाललाई रजत पदक दिलाएकी थिइन्। समितिका अध्यक्ष कैलाशचन्द्र गोयलले खेलाडीहरुलाई सम्मानपत्र प्रदान गरेका थिए । 
यसैगरी, समितिले दिपावली स्नेह मिलन समारोह आयोजना गरेको छ ।
 
सो अवसरमा समितिका अध्यक्ष गोयलले शुभ दीपावली, नेपाल सम्वत्, छठ पर्व २०८० को शुभकामना दिंदै समितिले सामाजिक, राजनैतिक, धार्मिक, शैक्षिक, साँस्कृतिक, आर्थिक एवं प्राकृतिक आपत विपत आदिमा सेवा गर्दै आएको बताए ।
 
उनले जाजरकोट र रुकुम पश्चिमा गएको विनाशकारी भूकम्पमा परी ठूलो जनधनको क्षती भएकोमा त्यस क्षेत्रमा मारवाडी सेवा समितिको तर्फबाट राहत पठाउने कार्य भइरहेको र पहिलो चरणमा फाइबरको सिरक ८३५ थान, पीफम मेट ९०० थान र दाल १ केजी र नुन १ केजी राखेर प्याक गरिएको ४०० प्याकेट चामल हस्तान्तरण गरिएको बताए ।
कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तल, मारवाडी महिला मंचकी अध्यक्ष अर्चना काबरा, मारवाडी युवा मंचका अध्यक्ष शैलेन्द्र शर्मा,मेश तापडि़यालगायतको उपस्थिति थियो 
कार्यक्रम सञ्चालन समितिका महासचिव प्रमोद कुमार अग्रवालले गरेका थिए ।