काठमाण्डौ। कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भई धेरै बिरामी आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै मिदासले ‘मेरो डाक्टर’ एपमार्फत अनलाइन भिडियो परामर्श बिहीबारदेखि सुरु गरेको छ।

समयमै उपचार वा परामर्शबाट बन्चित हुनुपर्दा बिरामीको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न र बिरामीको चिकित्सक वा अस्पतालसँगको सम्पर्क स्थापित गर्न यो अनलाइन भिडियो परामर्श सेवा प्रभावकारी हुने कम्पनीले विश्वास लिएको छ। नेपालका सयौँ कन्सल्टेन्ट डाक्टर र कैयन अस्पताल यस एपमा उपलब्ध हुने हुँदा जुनसुकै रोगका बिरामीले जुनसुकै स्थानबाट अनलाइन भिडियो परामर्श पाउन सक्ने गरी व्यवस्था मिलाइएको मिदास टेक्नोलोजिज्स प्रालिका प्रबन्ध निर्देशक छत्रहरि कार्कीले बताए। 

जारी बन्दाबन्दीको अवस्थाका अतिरिक्त सामान्य समयमा समेत विशेषज्ञ चिकित्सकहरुले यस एपमार्फत स्वास्थ्य सेवा परामर्श दिन सकिने गरी व्यवस्था मिलाइएको छ। यसबाट स्वयं बिरामीको समय र पैसा दुवैको बचत भई अस्पतालहरुमा हुने अनावश्यक भीड कम गर्न मुख्य सहयोगी हुने विश्वास कम्पनीले लिएको छ।

कोभिड महामारीको समयमा मात्र होइन विशेषज्ञ चिकित्सकसँग एवं अस्पतालसम्म आइ परामर्श लिन सामान्य समयमा समेत विविध खालका कठिनाइ छन्। भौगोलिक विकटता एवं बिरामी अस्पतालसम्म जाने अनुकूल अवस्था कुरेरै बस्ने सामान्य प्रचलन छ। यस्तो अवस्थाबाट मुक्तिका लागि र आफ्नो रोगलाई थप बल्झिन नदिन यस्तो अनलाइन भिडियो सेवा उपयोगी हुने विश्वास लिइएको छ। 

सामान्यतया रोगले च्यापेर थला नपरीकन अस्पताल वा डाक्टरको सम्पर्कमा जान नचाहनेमध्ये अधिकांशलाई यो अनलाइन भिडियो परामर्श अत्यन्तै उपयोगीसिद्ध हुनेछ। सामान्य रोगलाई अनलाइन परामर्शबाट नै उपचार गर्न र जटिल बन्न नदिन र उपचार सम्भव हुँदै अस्पताल वा विशेषज्ञ चिकित्सकहरूको सम्पर्कमा जान प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो अनलाइन भिडियो परामर्श सेवाको परिकल्पना गरिएको हो। 

कोभिडसँग सम्बन्धित सम्पूर्ण स्वास्थ्य परामर्श सबै यस अनलाइन भिडियो परामर्शमा निःशुल्क हुने गरी व्यवस्था मिलाइएको छ।

यो सेवा कसरी लिने ?

बिरामीले आफूसँग रहेका मोबाइल अथवा ल्यापटपमार्फत आफूले अनलाइन भिडियो परामर्श लिन चाहेको डाक्टरको समय कुनै पनि समय र स्थानबाट लिन सक्नेछन्। यदि तपाइँ एन्ड्रोइड फोन प्रयोगकर्ता छन् भने गुगल प्ले स्टोरमा गएर सजिलै ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्ने कम्पनीले जनाएको छ। यदि आईओएस फोन प्रयोगकर्ता छन् भने एप्पल स्टोरमा गएर तुरुन्तै ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सकिने पनि कम्पनीले जनाएको छ। 

ल्यापटप वा डेस्कटपबाट यो सेवा लिन चाहने भने सीधै www.merodoctor.com टाइप गरेर यो सेवा लिन सक्नेछन्। यदि माथि उल्लेखित कुनै पनि ग्याजेट तथा इन्टरनेट सुविधा उपलब्ध भएनन् भने आफूलाई पायक पर्ने नजिकैको फार्मेसी, क्लिनिक तथा स्वास्थ्यचौकीमा पुगेर यो सेवा लिन सक्ने कम्पनीले जनाएको छ। 

मेरो डाक्टर एप कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा यो लिंक www.merodoctor.com/help ले थप मद्दत गर्नेछ। सजिलोका लागि यो लिंकमा भिडियो म्यानुअल राखिएको छ। 

मिदास टेक्नोलोजिज्स

विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले सहयोगी भूमिका खेल्दै आएको छ। मिदासले देशभरका १२० भन्दा बढी अस्पताललाई व्यवस्थापन पद्धतिमा सहयोग गर्दै आइरहेको छ।