काठमाण्डौ । ग्लोबल मनी विक कोअर्डिनेशन कमिटीको निर्णयबमोजिम नेपाल राष्ट्र बैंकले यही चैत ७ गतेदेखि चैत १३ गतेसम्म वित्तीय साक्षरता मार्गदर्शन, २०७८ कार्यक्रम संचालनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशनबमोजिम मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सप्ताहव्यापी कार्यक्रमहरु तय गरेको छ।

साप्ताहिक कार्यक्रममध्ये पहिलो दिन सोमबार शाखा कार्यालय खोलेसिमल र भरतपुरका सदस्यहरु तथा खोलेसिमलका स्थानीयवासीसहित चितवनको खोलेसिमलबाट कालिका नगरपालिकाको कार्यालयसम्म र्याली यात्रा गरेको छ। र्यालीपश्चात नगरपालिकाको हलमा जम्मा भई वित्तीय साक्षरतासम्बन्धी अन्तर्क्रिया तथा वित्तीय साक्षरतासम्बन्धी भिडियो प्रदर्शनीसमेत गरेको छ। 

संस्थामा आबद्ध रहेका लघुवित्त सदस्यहरु तथा संस्थाको बागमती प्रदेश प्रमुख तुल्सीराम पाठक, उपप्रमुख रवि मल्लाह, भरतपुर शाखा प्रमुख, पिप्ले शाखा प्रमुख, खोलेसिमल शाखा प्रमुखलगायत कर्मचारीको उपस्थितमा कार्यक्रम भएको हो।

संस्थाले चैत १३ गतेसम्म अधिराज्यका विभिन्न शाखाहरुमा वित्तीय साक्षरता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले जानकारी गराए। 

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले देशभर ६३ वटा जिल्लामा १४८ वटा शाखा कार्यालय बाट १ लाख ३० हजार सदस्यमा लघुवित्त सेवा प्रवाह गरिरहेको छ। संस्थाले हाल २ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब रुपैयाँ कर्जा लगानी गरिरहेको छ।