काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियानअन्तरर्गत लुिम्बनी प्रदेशको विभिन्न स्थानहरुमा बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

यस पुस महिनामा बैंकले कोटीहवास्थित पशुपति स्कुल र कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो। सोही कार्यक्रममा स्कूल र कलेजका विद्यार्थीहरु तथा शिक्षक, शिक्षकाहरुको सहभागीता रहेको थियो। 

त्यसैगरी बैंकले सुन्वाल–११ जारगहस्थित नेपाल प्रहरी युक्ति ट्रेनिङ सेन्टरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ।

ती कार्यत्रमहरुमा बैंकिङ सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधि, बचत खातालगायत बैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो। यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधाबारे चेतना तथा पहुँच पुर्याउने उद्देश्य बैंकले लिएको छ।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाका लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।