काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड १५ औँ वर्ष पार गरी १६ औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा बैंकले विभिन्न कार्यक्रम गरेको छ। 

यसै अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको छ। बैंकले प्रदेश नं १ मा ४ वटा, प्रदेश नं २ मा वटा, बागमती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा, लुम्बिनी प्रदेशमा ५ वटा र सुदूरपश्चिम प्रदेशमा वटा शाखा कार्यालयहरुको औपचारिक रुपमा शाखा उद्घाटन गरेको हो। उक्त समारोहको उद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले गरेका थिए। 

यसैगरी उक्त उद्घाटन समारोहमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे। उक्त उद्घाटन समारोहमा बैंकका वर्तमान सञ्चालक, पूर्वसञ्चालक, संस्थापक सेयरधनी तथा बैंकका उच्च पदाधिकारी, शाखा प्रबन्धकहरुको उपस्थिति थियो।

यसका साथै बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरुमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु गरेको छ। जसमध्ये विद्यालयमा स्टेसनरीका सामग्री तथा फर्निचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँहरुमा डस्बिन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरताका कार्यक्रम, विद्यार्थीलाई न्यानो कपडा, स्कुल ब्याग वितरण,  विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको छ। 

यसैगरी बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयहरुले बृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका छन्। बैंकले काठमाण्डौको केन्द्रीय कार्यालय कमलादी र पोखरा क्षेत्रीय कार्यालयमा बृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको छ। ती कार्यक्रमबाट कुल २०२ पोका रगत संकलन गरेको छ। 

बैंकले वार्षिकउत्सवका अवसरमा गरेका गतिविधिहरु सामाजिक उत्तरदायित्व कार्यक्रमहरुका लागि कुल रु १० लाख रुपैयाँ बढीबराबरको सहयोग गरेको छ। 

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाका लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।