काठमाण्डौ । काठमाण्डौमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ अकाउन्टेन्ट्स (साफा) बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस २०२१ अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएको छ।

साफाले बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट विभिन्न विधाहरुमा प्रस्तुत गरेको थियो। दक्षिण एसियन देशहरुबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरुलाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्यांकनका आधारमा छनोट गरेको हो। 

विधाहरुमा वित्तीय सेवा क्षेत्र मध्येबाट नेपालबाट मुक्तिनाथ विकास बैंकले यो सम्मान प्राप्त गरेको छ। नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्यांकनका लागि दक्षिण एसियन फेडरेसन अफ अकाउन्टेन्ट्समा पठाएको हो। 

उक्त प्रमाणपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए। वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत बैंकलाई दिइने उक्त सम्मानलाई अतिप्रतिष्ठित सम्मान मानिने गरिएको छ। यसरी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बैंक सम्मानित हुँदा बैंकमा कार्यरत कर्मचारीहरुलाई थप ऊर्जा मिल्ने बैंकले जानाएको छ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। 

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।