कार्तिक १७ गतेदेखि १९ गतेसम्म हुने भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा थप सुधार ल्याउने परराष्ट्रमन्त्री प्रकाशशरण महतले बताएका छन्।

मुखर्जीको नेपाल भ्रमण सकिएपछि नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी भारतको ‌औपचारिक भ्रमणमा जाने भनिएको छ।

गत वर्ष नेपालको संविधान जारी भएपश्चात नेपालमा चुलिएको तनावमाझ चिसिन पुगेको नेपाल-भारत सम्बन्धलाई आसन्न उच्चस्तरीय भ्रमणले न्यानो पार्ने अधिकारीहरुको अपेक्षा छ।

तर यसै शरद ऋतुमा हुने भनिएको चिनियाँ राष्ट्रपतिको भ्रमण भने अझै अनिश्चित छ।

'पक्का'
प्रचण्डको दिल्ली यात्रा सकिएको दुई साता नबित्दै नेपाल र भारतका कुटनीतिज्ञहरु अर्को महत्वपूर्ण उच्चस्तरीय भ्रमणको तयारीमा जुटिसकेका छन्त्यो, हो २० वर्ष पछि हुन लागेको भारतीय राष्ट्रपतिको नेपाल भ्रमण।

परराष्ट्रमन्त्री प्रकाशशरण महतका अनुसार दुवै देशका अधिकारीहरु एक महिनापछि कार्तिक १७ गते अर्थात नोभेम्बर २ तारिखबाट हुने मुखर्जीको नेपाल भ्रमणको तयारीमा व्यस्त छन्।

उनले भने, “मिति पक्का छ, त्यसलाई पक्का गरेर पठाइसकेका छौं। भ्रमणको कार्यक्रमलाई अन्तिम रुप दिने काम भईरहेको छ।”

मुखर्जी आफ्ना नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका हुन्।

मुखर्जीलाई काठमाण्डूका अतिरिक्त पोखरा, जनकपुर वा लुम्बिनीमध्ये एक स्थानको भ्रमण गराउने सम्भावनाबारे छलफल भइरहेको महतले बताएका छन्।

नेपालको शान्ति प्रक्रियाका एक शुभचिन्तक मानिने राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई थप सुधार गर्न मद्दत पुर्याउने मन्त्री महतको ठहर छ।

छलफल
मुखर्जीको नेपाल भ्रमण सकिए लगत्तै नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण अनुकूल समयमा गराउनेबारे दुवै देशका परराष्ट्र अधिकारीहरुले छलफल गरिरहेको मन्त्री महतले बताए।

गत वर्ष नेपाल-भारत दुई देशबीचको सम्बन्धमा बढेको तिक्ततामाझ गत वैशाखमा नेपालकी राष्ट्रपतिको निर्धारित भारत भ्रमण अन्तिम समयमा स्थगित हुन पुगेको थियो।

यसै शरद याममा हुने भनिएको उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणको पनि अझै टुंगो लागिसकेको छैन।

नेपालमा बढेको राजनीतिक ध्रुवीकरणमाझ वर्तमान सरकारसामु चीन र भारतसँगको शक्ति सन्तुलन मिलाउने चुनौती टड्कारो देखिन्छ।

मन्त्री महतको भनाइमा त्यो चुनौतीलाई सरकारले बुझेको छ र चीनसँगको सम्बन्धलाई पनि उत्तिकै महत्व दिएको छ।

'महत्व'
उनले भने, “हामी अझै पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको व्यग्र प्रतीक्षा गरिरहेका छौं। दुवै देशसँगको सम्बन्धलाई हामी उत्तिकै महत्व दिन्छौं।”

सीको नेपाल भ्रमणबारे जारी अनिश्चिततामाझ बरु नेपालका प्रधानमन्त्री प्रचण्डले आगामी २९ र ३० गते भारतको गोवामा हुने ब्रिक्स् समूहको बैठकमा चिनियाँ राष्ट्रपतिलाई भेट्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन्।

ब्रिक्स समूहमा ब्रजिल रुस भारत चीन र दक्षिण अफ्रिका आबद्ध छन्।

चीन र भारतसँग समदूरीको सम्बन्ध राख्ने चाहाना व्यक्त गर्दै आएका प्रधानमन्त्रीले पदभार सम्हाल्ने बित्तिकै दिल्ली र बेइजिङमा दुई उपप्रधानमन्त्रीलाई आफ्ना विशेष दूत पठाएका थिए।

बीबीसी नेपाली सेवाबाट साभार