काठमाण्डौ । भारतको मुम्बईमा प्लाष्टिकजन्य वस्तुको वृहत प्रदर्शनी हुने भएको छ ।

१२ औं संस्करणकोे अन्तरराष्ट्रिय प्लाष्टिक प्रदर्शनी र सम्मेलन आउँदो डीसेम्बर ७ देखि ११ गतेसम्म मुम्बइमा हुन लागेको द अल इण्डिया प्लाष्टिक म्यानुफ्याक्चर एशोसिएसनका अध्यक्ष मनिष देढियाले बताए ।

नेपालका प्लाष्टिक उत्पादक उद्योगी तथा व्यवसायीहरुलाई प्रदर्शनी एवं सम्मेलनका विषयमा जानकारी गराउने उद्धेश्यले काठमाण्डौमा आयोजित कार्यक्रममा अध्यक्ष मनिष देढियाले प्लाष्टिकको उत्पादन, त्यसको प्रयोग र प्लाष्टिक जन्य वस्तुहरुको उपभोगमा देखिएका समस्या र चुनौतीसँगै यसले अर्थतन्त्र र रोजगारीमा पुरयाएको योगदानका बारेमा चर्चा गरेका थिए ।

मुम्बईमा हुने प्लाष्ट भिजन २०२३ मा ३० मुलुकका १ हजार ५०० भन्दा बढी स्टल रहने छन् । यस्तै, २ लाख ५० हजार व्यवसायीले मेला अवलोकन गर्ने अपेक्षा लिइएको अध्यक्ष देढियाले जानकारी दिए ।

उक्त प्रदर्शनीले मुलुकको आन्तरीक एवं बाह्यि मुलुकहरुसँगको व्यवसायिक सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास लिएको बताउँदै देढियाले सम्मेलनमा नेपालकोतर्फबाट राम्रो सहभागिता हुने अपेक्षा लिएको बताए ।  

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले यस प्रकारका मेला तथा सम्मेलनले दुई देशीय व्यापार आदानप्रदान गर्नुका साथै व्यवसायीहरुबीच सुमधुर सम्बन्ध स्थापित गराउने बताए । 

उनले प्लाष्टिक आज मानव जीवनमा अपरिहार्य वस्तुको रुपमा स्थापित भइसकेकाले वेष्टेज प्लाष्टिकलाई रिसाइकल गरी मोहोरमा परिणत गर्न र वातावरणमा पनि स्वच्छता कायम राख्न प्रयास गर्नुपर्ने बताए । उनले प्लाष्टिकबाट उद्यमशिलता विकास गर्न नेपालका प्लाष्टिक उद्यमी र द अल इण्डिया प्लाष्टिक उत्पादक संघका पदाधिकारीलाई आग्रह गरे ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष एवं प्लाष्ट नेपालका अध्यक्ष दिपक श्रेष्ठले प्लाष्टिक उत्पादनका क्षेत्रमा थुप्रै समस्या र चुनौती रहेकाले यस क्षेत्रको विकास र विस्तारमा कसरी लाग्ने भन्ने विषय अहिले चुनौतीपूर्ण अवस्थामा रहेको बताए ।