काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले उपयुक्त बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्तिका लागि ढोका खुल्लै रहेको बताएका छन्।
मेगा बैंक सञ्चालनको १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा अध्यक्ष शाहले यस्तो धारणा सर्वाजनिक गरेका हुन्। यो अवधिमा पश्चिमाञ्चल विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर सम्पन्न गर्दै गत महिनामात्रै गण्डकी विकास बैंकलाई प्राप्ति गर्नु पनि मेगा बैंकको महत्वपूर्ण उपलब्धि भएको अध्यक्ष शाहले बताए। ‘मर्जर र प्राप्तिका लागि ढोका खुल्लै छ’, उनले भने, ‘मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रा जारी छ।’
अध्यक्ष शाहले स्थापनाको १० वर्षमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएकोमा गौरवान्वित भएको पनि बताए। ग्राहक, संस्थापक, शेयरधनी, सञ्चालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाहरुको निरन्तर सहयोग र अटुट विश्वासका कारण मेगा बैंकले सफलता हासिल गरेको उनको भनाइ थियो।
कार्यक्रममा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले १० वर्षको वित्तिय सूचकांकलाई केलाएर हेर्दा एक दशकको छोटो समयमै विभिन्न रणनीतिक निर्णय र व्यावसायिक योजनाहरुको प्रभावकारी कार्यान्वयनका कारण मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताइन्। स्थापनाकालदेखि नै यस बैंकलाई सफल बनाउन आफूहरुले मेहनत गरेको उल्लेख गर्दै उनले यो व्यावसायिक सफलताका लागि योगदान पुर्याउने सबै पक्षलाई धन्यवाद व्यक्त गर्दै आभार प्रकट गरिन्।
बैंक स्थापनाको १० औं वर्षलाई विशेष बर्षका रुपमा मनाउन लागिएको सीईओ खुञ्जेलीले जानकारी दिइन्। उनका अनुसार यसका लागि बैंकले बार्षिक क्यालेन्डर बनाएर बर्षभरि नै संस्थागत सामाजिक उत्तरदायित्वलगायत अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना बैंकले बनाएको छ। ‘बैंकको सफलताको श्रेय अझ बढी ग्राहक र सर्वसाधारण जनतामा रहेको मनन गर्दै वर्षभरि नै उहाँहरुलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम गरेर १० औं बार्षिकोत्सव मनाउने योजनामा छौँ’, उनले भनिन्।
१० औं वर्षको अवधिमा आइपुग्दा बैंकले आफ्नो सञ्चालन खर्च तथा कोषको लागतलाई न्यूनतम राखी आधारदरलाई ८.३२ प्रतिशतमा कायम राख्न सफल भएको छ। जसले गर्दा कोभिड १९ को महामारी र बन्दाबन्दीको मारमा परेका कर्जा ग्राहकवर्ग र नयाँ व्यावसाय विस्तार गर्ने तयारीमा रहेका ग्राहकलाई मेगा बैंकले सस्तो ब्याजदरमै बिभिन्न किसिमका कर्जा उपलब्ध गराउने भएको छ।
यसैगरी १० औं वार्षिकोत्सवको अवसरमा मेगा बैंकले ‘मेगा टीक बैंकिङ’ तथा ‘मेगा बजार’ जस्ता अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा आरम्भ गर्ने भएको छ। आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै ल्याइएको यी सेवाहरुले सेवाग्राहीलाई अत्याधुनिक बैंकिङ सेवाका साथै आफ्नो व्यावसाय प्रबद्र्धन गर्न मद्दत गर्ने मेगा बैंकले विश्वास लिएको छ।
ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले बितेको १० बर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि गरेको छ। देशको २८ औँ वाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक स्थापनकालको १० औं बर्षमा आइपुुग्दा चुक्ता पुँजीका हिसाबले छैटौं स्थानमा र व्यावसाय (निक्षेप तथा कर्जा) का आधारमा १२ औं स्थानमा रहेको छ। २०७७ आषाढ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ३२ अर्ब र कुल कर्जा करिब १ खर्ब १४ अर्ब रहेको छ।
मेगा बैंकले १८ सयभन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका २०६ शाखा सञ्जालमार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि बैंकले आफ्नो ‘एक शाखा–एक छोरी छात्रवृत्ति’ कार्यक्रमअन्तर्गत बैंकका शाखाहरुबाट एक–एकजनाका दरले १०१ जना छात्राहरुको शिक्षाका लागि आर्थिक एवं शैक्षिक सामग्री सहयोग गरेकोमा सोही छात्राहरुको यस बैंकमा बचत खाता खोली बैंकका तर्फबाट प्रत्येक छात्राको खातामा १–१ हजार रुपैयाँ जम्मा गरी आर्थिक सहायता गर्ने घोषणा गरेको छ। छात्राहरुमा सानै उमेरदेखि बैंकमा बचत गर्ने बानीको पनि बिकास होस भन्ने उद्देश्यले बैंकका तर्फबाट १–१ हजार जम्मा गर्ने गरी बचत खाता खोली दिन लागेको मेगा बैंकले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago