काठमाण्डौ। नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको नेटवर्कमा कुमारी बैंकको मोबाइल एपमार्फत किस्ताबन्दीमा रकम तिर्न सकिने भएको छ। 

एफवानसफ्ट, फोनपे र कुमारी बैंकको सहकार्यमा कुमारी बैंकका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको हो। यस सुविधामा कुमारी बैंकमा खाता रहेका ग्राहकले क्यूआरमार्फत भुक्तानी गर्दा तत्काल नगद अथवा किस्ताबन्दीमा रकम भुक्तानी गर्न सकिनेछ। यो सुविधाका लागि ग्राहकले कुमारी बैंकको फोनलोन सुविधाका लागि योग्य भएको हुनुपर्नेछ। 

कुमारी बैंकको मोबाइल एपमार्फत क्यूआर भुक्तानी गर्दा किस्ताबन्दीमा भुक्तानी गर्ने अथवा तत्काल भुक्तानी गर्ने भन्ने अप्सन देखाउनेछ। उक्त अप्सनमार्फत ग्राहकले ईएमआईमार्फत समेत भुक्तानी गर्न सक्नेछन्। मर्चेन्टलाई भने कुमारी बैंकले तत्कालै रकम भुक्तानी दिनेछ भने ग्राहकले किस्ताबन्दीमा तिर्न सक्नेछन्।   

एफ वान सफ्ट इन्टरनेसनलसँगको सहकार्यमा कुमारी बैंकले गत वर्षदेखि फोनलोन सेवासमेत सुरु गरेको थियो। अहिले फोनपेको क्यूआरमार्फत उक्त सेवाको लोकप्रियतालाई ध्यानमा राखेर ईएमआईसहितको भुक्तानी सेवा सुरु गरिएको हो। 

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आबद्ध छन्। 

यस्तै फोनपेमा हालसम्म ५ लाखभन्दा बढी मर्चेन्ट रहेका छन्। १ करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवाप्रदायकका मोबाइल एपमार्फत यसले सेवा प्रदान गर्दै आएको छ। 

फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसीआई डीएसएस भी थ्री.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो।