ललितपुर। नेपालकै अग्रणी मिडिया कम्पनी म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता शुभारम्भ भएको छ। 

डिजिटल मिडियासम्वन्धी सम्भवतः नेपालकै पहिलो र सबैभन्दा ठूलो यस प्रतियोगिताले डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरुलाई भाग लिन आह्वान गरेको छ। ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य नै डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरुको पहिचान गर्दै उनीहरुलाई व्यक्तिगत एवं समग्र नेपाली मिडिया उद्योगलाई नै टेवा पुर्याउन त्यस्ता व्यक्तिहरुको पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्नु रहेको छ। 

नेपालमा विभिन्न विदेशी कम्पनीसँग सहकार्य गरेर डिजिटल मिडियासम्वन्धी काम गर्ने अभ्यास भइरहेको छ। ‘तर हामी स्वदेशमा नै लुकेर रहेको डिजिटल मिडियासम्बन्धी त्यस्तो प्रतिभाको खोजी गरी उनीहरुलाई नै प्रोत्साहन गर्दै डिजिटल मिडियासम्बन्धी आवश्यकता पूर्ति गर्ने उद्देश्य लिएर अगाडि बढेका छौँ’, म्याक्स मिडियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

मिडिया क्षेत्रको पृष्ठभूमिमा पछिल्लो पाँच बर्षको अवधिमा निकै ठूलो परिवर्तन देखिएको छ। ‘यस अवधिमा खासगरी डिजिटल मिडियाको सुरुआतमात्र नभई हाम्रो दैनिक जीवन, जहाँ हामी हाम्रो जीवत यापन गरिरहेका छौँ, त्यसको महत्व बढाइरहेको छ। अहिलेको समयमा हामीले नेपालमा डिजिटल मिडियाको सम्भावना उच्च देखेका छौँ, जुन हाम्रो विचार प्रस्तुत गर्ने एउटा सशक्त माध्यम पनि हो’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको डिजिटल मिडियाको क्षेत्रमा प्रसस्त अवसर रहेको हामीले देखेका छौँ, जसबाट हरेक व्यक्तिले आफू वसेको स्थानवाट नै राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा आफ्नो क्षमता प्रश्तुत गर्ने उचित अवसर प्राप्त गर्ने छ। यो एउटा व्यक्तिको मात्र नभएर ग्राहक, आम विज्ञापन दाता र समग्र मिडिया उद्योगकै लागि राम्रो पक्ष हो।’ 

म्याक्स मिडिया डिजिटल गुरु एउटा विशेष चुनौतीको परीक्षण गर्ने लक्ष्यसहित पहिलोपटक प्रस्तुत भएको डिजिटल हेडहन्ट हो। जहाँ सहभागीले प्रतियोगिताको नियममा रही आफ्नो रुचीको बिषयमा डिजिटल मिडिया सम्वन्धि सबल प्रस्तुति प्रस्तुत गर्न दिइनेछ। ‘यसबाट नेपालको डिजिटल मिडियाहरुको उत्थानका लागि एउटा नयाँ अध्ययन सुरु हुने हाम्रो अपेक्षा रहेको छ’, विज्ञप्तिमा भनिएको छ। 

यो उत्साहसँग आफ्नो नयाँ अनुभव कोर्नुका साथै सीमित घेराभन्दा वाहिर निस्किएर सिक्न र आफ्नो क्षमता बाहिर ल्याउनका लागि यो एउटा त्यस्तो अवसर हो। जसले रु ५ लाखसम्म पुरस्कारसमेत प्राप्त गर्नेछ। 

म्याक्स मिडिया डिजिटल गुरुको मुख्य उद्देश्य नै मिडिया इन्डस्ट्रिका लागि उत्कृष्ट र नविनतम विचारसहितको सोच प्रस्तुत गर्ने रहेको छ। यस प्रतियोगितामा सहभागी हुनका लागि www.digitalguru.maxmedia.com.np मा रजिस्टर गर्न सकिनेछ।