काठमाण्डौ । देशका चार महानगरको ताजा मत परिणाम प्राप्त भएको छ । चारवटै महानगरमा आज बिहानसम्म पनि एमालेकै अग्रता छ । 

काठमाण्डौ महानगरपालिकाको एमालेको मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले २१७ मत प्राप्त गरेका छन् भने उनलाई साझा पार्टीका किशोर थापाले १ सय ४२ मतका साथ पछ्याइरहेका छन् । आज बिहानसम्म पनि यो क्षेत्रमा कांग्रेसका उम्मेद्वार राजुराज जोशी तेश्रो स्थानमै सीमित छन् । उनको मतपरिणाम १३५ रहेको छ । विवेकशीलकी रञ्जुले ११० मत ल्याएकी छिन् । 

काठमाण्डौपछि चर्चाको शिखरमा रहेको भरतपुर महानगरपालिकाको ताजा मत परिणाम समेत प्राप्त भएको छ । यो क्षेत्रमा एमालेका देवी ज्ञवालीले ६ सय ८५ मत प्राप्त गरेका छन् भने माओवादीकी रेणु दाहालले ५ सय २८ मत प्राप्त गरेकी छिन् । 

ललितपुर महानगरपालिकामा एमालेका उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारले २६२५ मत ल्याएर अग्रता कायम राखेका छन् । कांग्रेसका उम्मेद्वार चिरिबाबु महर्जनले २१७७ मतका साथ पछ्याइरहेका छन् । यो क्षेत्रमा तेश्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेद्वार दिनेश महर्जनले ८४७ मत मात्र पाएका छन् । 

उता, पोखरा लेखनाथ महानगरपालिकामा समेत एमाले उम्मेद्वारको अग्रता कायमै छ । एमालेका मेयरका उम्मेद्वार मानबहादुर जिसीले १०६५ मत प्राप्त गरेका छन् भने कांग्रेसका रामजी कुँवरले ८ सय ३१ मत प्राप्त गरेका छन् ।