काठमाण्डौ । रोमाञ्चक मोडमा पुुगेको भरतपुरको मतगणनामा मेयर पदमा कसले बाजी मार्ला ? अहिले धेरैको मनमा यही प्रश्न छ । सत्तापक्षको गठबन्धनले जित हात पार्ला कि कांग्रेस र माओवादीलाई समेत पछि पार्दै प्रमुुख प्रतिपक्षी एमालेले विजयको झण्डा फहराउला ? मतगणना सकिनै लाग्दा मतअन्तरमा देखिएको रोमाञ्चक प्रतिस्पर्धाले कसले जित्ला र कस्ले हार्ला भन्ने प्रश्न निकै पेचिलो बनिरहेको छ । अबको केही घण्टा भरतपुरतर्फ सिंगो देशको ध्यान केन्द्रीत हुँदैछ । अन्तिम अवस्थामा के भइरहेको छ भरतपुरमा ? अन्तिम अवस्थाको संभावित गणित के छ ? हामीले यही कुरा स्थानीय पत्रकार प्रनिश थापाको सहकार्य केलाउने प्रयास गरेका छौ । 

ताजा अवस्था

भरतपुर महानगरपालिकाको २९ वटा वडामा अब ३ वटा वडाको मात्रै मतगणना गर्न बाँकी छ । आइतबार बिहान वडा नं १८ को मतगणना सकिएको छ । अब वडा नं १९, २० र २१ को मात्रै मतगणना गर्न बाँकी रहेको छ । जसमा १९ नं वडामा २८८७ मत, २० नं मा ३३१८ मत र २१ नं वडामा ३५६८ मत गरी कुल ९,७७३ मतगणना गर्न बाँकी रहेको छ । १८ नं वडामा १३३५ मत ल्याएर नेपाली कांग्रेस विजयी भएको छ भने एमालेले ११०० मत प्राप्त गरेको छ । माओवादी केन्द्रले यस वडामा ६२३ मत पाएको छ ।

हालसम्मको नतिजा अनुसार एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ३९,७५० मत पाएका छन् भने माओवादी र कांग्रेस गठबन्धनकी साझा मेयर उम्मेदवार रेणु दहालले ३८,६०५ मत पाएकी छिन् । हालको मतान्तर ११४५ रहेको छ । यसअघि वडा नं २२ को मतगणना सकिदा मतान्तर १४३० थियो वडा नं १८ ले रेणु दहाल र देवी ज्ञवाली बीचको मतान्तर २८५ घटाएको देखिन्छ । 

अहिले २१ नं वडाको मत गणना सुरु गरिएको छ । अब रेणुलाई जितका लागि प्रत्येक वडामा देवी ज्ञवालीभन्दा कम्तीमा ३८२ बढी मत ल्याउनैपर्ने हुन्छ । हालकै अनुपातमा मात्रै अग्रता कायम रहिरहेको खण्डमा एमालेको जित निश्चित देखिन्छ । 

स्थानीयका अनुसार गणना हुन बाँकी रहेका तीनवटै वडा कांग्रेसको पडक क्षेत्र हो । यही भएर रेणुु दाहालको पक्षमा राम्रै मत आउला कि भन्ने अनुमान गर्नेहरु पनि छन् । तर कांग्रेसको पकड क्षेत्रबाटै माओवादीलाई मेयर दिइएको ठूलो विरोध रहेको र भोट क्रस भई देवी ज्ञवालीलाई आउने विगतको प्रवृति देखिएकोले यही प्रवृति निरन्तर रहे तीनवटा वडाबाट समेत देवीले अग्रतालाई अझ बढाउन सक्छन् । 

१९ नं कांग्रेसको सबैभन्दा राम्रो पकड भएको वडाको रुपमा मानिन्छ । यस वडा माओवादीबाट उपमेयरमा उम्मेदवारी दिएर फिर्ता लिएका सुरेन्द्र गुरुङको घर भएको र माओवादीका नेता तथा कलाकार खुसीराम पाख्रिनको घर भएको क्षेत्र भएकाले पनि राम्रै भोट आउने अपेक्षा माओवादीको छ । यस वडाबाट रेणु दाहालले देवी ज्ञवालीसँगको मतान्तर निकै घटाउने गठबन्धन दलको आशा छ । 

यसरी विश्लेषण गर्दा ब्यालेट बक्सभित्र के छ भन्ने अनुमान लगाउन निकै गाह्रो अवस्था छ । दुवैको जितको उत्तिकै संभावना देखिएपछि भरतपुरको अन्तिम मतगणना र परिणाम अझ रोमाञ्चक हुँदै गएको छ । 

मेयरतर्फको भिडन्त निकै रोमाञ्चक भइरहे पनि उपमेयरमा भने कांग्रेसले बाजी मार्ने निश्चित जस्तै भइसकेको छ । कांग्रेस उम्मेद्वार पार्वती शाहले ४२,५८६ मत प्राप्त गरिसकेकी छिन् । उनलाई दिव्या आचार्यले ३६३८५ मतले पछ्याइरहेकी छिन् । ११ हजार मत गन्न बाँकी रहेका कारण अब दिव्या आचार्यले शाहलाई उछिन्ने अवस्था देखिदैन । 

यसरी भरतपुरमा मेयरमा एमालेले जितेर उपमेयरमा कांग्रेसले जित्छ वा गठबन्धन दलको उम्मेद्वार रेणुु दाहालले नै मेयरमा बाजी मारी नयाँ इतिहास कायम हुन्छ भन्ने तीव्र प्रतिक्षाको बिषय बन्न पुुगेको छ । अन्तिम गणितले दुवैको संभावना देखाए पनि यो क्षेत्रको जितहार ठूला तीन दलको प्रतिष्ठासँग जोडिएकोले समेत थप रोचक बन्ने निश्चित छ । एमालेले चार महानगरमध्ये २ मा जित हासिल गरिसकेको छ । यसकारण उसले भरतपुरमा हार्दै पनि जहाज नै डूबिहाल्दैन, तर प्रतिष्ठाको बिषय भएकोले लडाई निकै चाखलाग्दो बनिरहेको स्थानीय बताउँछन् ।