काठमाण्डौ । सरकारसामु घुर्की लडाएर दशैंजस्तो महान चाडको मुखमा हलो अड्काउने यातायात व्यवसायीहरु अन्ततः कमाई गुम्ने भएपछि गलेका छन् । 

यातायात व्यवसायीले क्षमताभन्दा बढी यात्रु बोक्न पाउनुपर्ने आश्चर्यलाग्दो माग सहितका बुँदा प्रस्तुत गर्दै विगत केही दिनदेखि घुर्की लडाइरहेका थिए । 

उनीहरुले दशैंको अग्रिम टिकट बुकिङ खुलाएर सिण्डिकेट लाद्न र सरकारलाई गलाउनैका लागि थोरै बिक्री गरेर ‘टिकट सकियो’ भन्दै सर्वसाधारणलाई त्रसित बनाएका थिए । सरकारलाई आफ्ना मागमा झुकाउने उद्देश्यले थोरै टिकट बिक्री नहुँदै बन्द भएको अग्रिम टिकट बुकिङ सोमबारदेखि पुनः खुलाउन समेत उनीहरु सहमत भएका छन् । 

यातायात व्यवसायीहरुको लुटधन्दा र क्षमताभन्दा बढी यात्रु बोक्न पाउनुपर्ने अव्यवहारिक मागको विपक्षमा उभिएको सरकारले सर्वसाधारणलाई दशैंमा घर पठाउन सार्वजनिक बसका अन्य विकल्पहरु खोजेको थियो । सो क्रममा यात्रुहरुले दुःख पाएका भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यातायात मन्त्री रमेश लेखकलाई बोलाएर १ सय अतिरिक्त बस व्यवस्था गर्न र त्यसबाटै सर्वसाधारणलाई काठमाण्डौ बाहिरका मुख्य शहर तथा सदरमुकामसम्म पठाउने चाजोपाजो मिलाउन आइतबार बिहान कडा निर्देशन दिएका थिए । 

यातायात व्यवस्था मन्त्री लेखकले पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्याब्सन, एनप्याब्सनसँग समेत समन्वय गरेर आवश्यक बसहरुको व्यवस्थापन थालेका थिए । सरकारले नै बसको व्यवस्थापन गर्न थालेपछि वर्षभरमा सबैभन्दा बढी कमाई हुने मौका गुम्ने डरले यातायात व्यवसायी सरकारसँग गलेका हुन् । 

मन्त्री लेखकका अनुसार आइतबार केही घण्टासम्म चलेको वार्ताको क्रममा यातायात व्यवसायी दशैंमा काठमाडौंबाट बाहिरिने सबै यात्रुलाई गन्तब्यमा पुर्याउन तयार भएका छन् । यहीकारण सोमबारबाट फेरि टिकट बुकिङ खुलाइनेछ । तर सो छलफलमा यात्रुहरुलाई अनावश्यक भाडाको भार थोपर्न नपाइने बिषयमा ठोस सहमति निस्किएको छैन । 

यातायात व्यवसायीहरुले यो वर्ष नयाँ गाडी थपेका थिएनन् । तर यसमा समेत सरकारसँग बार्गेनिङ गर्ने नियत नै लुकेको थियो । सरकारलाई गलाउनैका लागि असोज ७ गते खुलाइएको बुकिङ पनि केही दिनमा नै सकिएको भनिएपछि ७ लाख सर्वसाधारण घर जान टिकट नपाएर छटपटिरहेका थिए ।

यातायात व्यवसायीहरुले दशैंतिहारमा उपत्यकाबाट जान यात्रुहरुलाई सवारीको कुनै कमी हुन नदिने प्रतिबद्धता समेत सरकारसामु व्यक्त गरेका बताइएको छ । 

यसैबीच, यातायात व्यवसायीले नै सबै यात्रुहरुलाई गन्तव्यमा पुर्याउने प्रतिबद्धता जनाएपछि सरकारी स्कूल बस, सेना तथा प्रहरीको बसबाट सर्वसाधारणलाई गन्तव्यमा पुर्याउने सरकारी तयारी तत्कालका लागि स्थगित गरिएको मन्त्री लेखकले जानकारी दिएका छन् ।