काठमाण्डौ । अर्थमन्त्रीको रुपमा अढाई वर्ष काम गरेका डा. युवराज खतिवडाको बहिर्गमन लगभग निश्चित झै देखिएको छ । 

अर्थमन्त्रीको रुपमा निरन्तरता पाउन उनले संघीय संसदका दुई सदनमध्ये कुनै एकको सदस्य बन्नुपर्नेछ, त्यो पनि २ दिनभित्र । जुन अब संभव देखिन्न ।

किनभने प्रतिनिधि सभाको उनी सदस्य बन्नसक्ने अवस्था छैन । राष्ट्रियसभाको सदस्यमा एक पद रिक्त छ, जसमा सत्तारुढ नेकपा सचिवालयको बहुमतले उनलाई सिफारिस गर्न सरकारलाई निर्देशन दिंदैन । 

राष्ट्रियसभा सदस्यको खालि एक सिटमा सचिवालयले फागुनमै पार्टी उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय गरिसकेको छ । सो निर्णय कार्यान्वयन हुनुपर्ने र आफू सरकारमा जान तयार रहेको भन्दै बामदेव गौतमले आफ्नो पुरानो अडान प्रस्तुत गरेसँगै सरकारमा अर्थमन्त्रीको रुपमा रहिरहने मौद्रिक अर्थशास्त्री डा. खतिवडाको सपना अब चकनाचुर हुने अवस्था बनेको हो । 

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली भने अन्तिम समयसम्म पनि डा. खतिवडालाई निरन्तरता दिने पक्षमा छन् । तर, उनले चाहेर मात्रै पनि अब संभव हुने देखिन्न । पार्टीमा चर्किएको लामो विवाद समाधानको अवस्थामा रहेको बेला खतिवडाकै कारण अवस्था थप बिग्रन नदिने निश्कर्षमा ओली समेत पुगिसकेका उनी निकट स्रोतले दाबी गरेको छ । 

आफ्नो विषयमा प्रधानमन्त्रीले अडान नछाडेपछि सर्वत्र विवादित भएको महसुस गर्दै अर्थमन्त्री डा. खतिवडाले समेत आफू राष्ट्रियसभा सदस्य बन्न अनिच्छुक भएको खबर प्रधानमन्त्रीलाई पठाइसकेका छन् । खतिवडा स्वयम्ले आफू राष्ट्रियसभामा नजाने, बरु शुक्रबार या शनिवार मन्त्री पदबाट राजीनामा दिने बताएपछि प्रधानमन्त्रीलाई समेत गौतमको पक्षमा निर्णय गर्न सजिलो हुनसक्छ । 

राष्ट्रियसभा सदस्यको रुपमा रहेका खतिवडा राजनीतिक पृष्ठभूमिका व्यक्ति होइनन् । उनको विज्ञताकै कारण आर्थिक समृद्धिको सपना साकार हुन्छ भन्ने निश्कर्षसहित ओलीले अर्थमन्त्री बनाएका थिए । राजनीतिक पृष्ठभूमि नै नभएका र विज्ञताका आधारमा एकैपटक अर्थमन्त्री बन्न पाउने भाग्यमानी व्यक्ति हुन् डा. खतिवडा । तर, उनी अर्थमन्त्रीको रुपमा नियुक्त भएदेखि नै विवादरहित चाहिँ हुन सकेनन् । सेयर बजारको विषयमा सुरुवातदेखि नै अनुदार देखिएका डा. खतिवडाले निजी क्षेत्रलाई समेत राम्रो व्यवहार नगरेका बेला बेला गुनासो आइनै रह्यो । पछिल्लो समयमा भने उनले आफ्नो कार्यशैली सुधार्न खोजेका थिए, जुन बेला समय घर्किसकेको थियो । 

उनी लगानीकर्ताहरुको नजरमा अर्थमन्त्री भएदेखि नै भिलेनको रुपमा छाइरहे । यतिसम्म कि उनको बहिर्गमनको खबर बेला बेला भाइरल बनाएर सेयर बजारमा चलखेल गर्ने गिरोहहरुले करोडौं कमाए । सेयर बजार विरोधी अर्थमन्त्रीको छवि बनाएका कारण यसपटक उनको बहिर्गमनको सुनिश्चिततासँगै सेयर बजार उछालको गतिमा दौडिरहेको छ । यसबाट समेत लगानीकर्तामा डा. खतिवडाको छवि कति धूमिल थियो भन्ने कुराको सहजै अनुमान गर्न सकिन्छ । 

उनको राष्ट्रियसभाको सदस्यको रुपमा कार्यकाल फागुनमै सकिएको थियो । तर, ओलीले उनलाई राजीनामा गर्न लगाएर त्यही दिन पुनः अर्थमन्त्रीमा नियुक्त गरेका थिए । संसद सदस्य नरहेको व्यक्तिले पनि मन्त्रीको रुपमा ६ महिनासम्म काम गर्न पाउने व्यवस्थाको सदुपयोग गर्दै डा. खतिवडा अर्थमन्त्रीको रुपमा काम गरिरहेका छन् । यो व्यवस्थामा भनिएको ६ महिना समेत भदौ २० गते सकिँदैछ । त्यसपछि उनी स्वतः पदमुक्त हुन्छन् । खतिवडा निकट स्रोतका अुनसार यहीकारण उनले शुक्रबार वा शनिवार राजीनामा दिने योजना बनाएका छन् । 

अबको अर्थमन्त्री को ? 
राष्ट्रियसभाको रिक्त सदस्य पदमा नाम सिफारिस गर्न, पार्टीभित्रको विवाद सामाधानका लागि गठित कार्यदलले दिएको प्रतिवेदनको विषयमा छलफल लगायतका विषयमा निर्णय लिन नेकपाको सचिवालय बैठक बस्न लागेको छ । यही बैठकले अर्थमन्त्रीको रुपमा डा. खतिवडाको भविष्य निर्धारण गरिदिनेछ । 

पार्टी स्रोतहरुलाई आधार मान्ने हो भने ९ सदस्यीय सचिवालयमा डा. खतिवडालाई छाडेर गौतमको नाम राष्ट्रियसभामा सिफारिस गर्ने विषयमा सुविधाजनक बहुमत देखिएको छ । कतिसम्म भने पार्टी महासचिव तथा ओलीका विश्वासपात्र विष्णु पौडेल समेत गौतमकै पक्षमा छन् । 

डा. खतिवडाको बहिर्गमन हुने लगभग निश्चित देखिएसँगै अबको अर्थमन्त्री को होला ? भनेर समेत अड्कलबाजी सुरु भइसकेको छ । बामदेव गौतमले आफू राष्ट्रियसभा सदस्य भई उपप्रधान तथा अर्थमन्त्री बन्न पाउनुपर्ने माग राखेका छन् । तर उनका सबै माग पूरा हुने अवस्था देखिन्न । पार्टीको सचिवालयमा बहुमत रहेका कारण राष्ट्रियसभाको सदस्यमा उनलाई मनोनयन गर्ने निर्णय हुनसक्ने भए पनि कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषय प्रधानमन्त्री ओलीको तजबिजको विषय हो । यसो हुँदा आफ्ना प्रिय पात्र खतिवडालाई अर्थमन्त्रीको रुपमा निरन्तरता दिन नसकेपछि ओलीले अर्थमन्त्रीको बागडोर गौतमलाई सुम्पिने संभावना कम छ । 

प्रधानमन्त्रीले आफ्नो विश्वासपात्रलाई नै अर्थमन्त्री बनाउने प्रचलन रहेकोले ओलीले विश्वास पात्रको रुपमा गौतमलाई अर्थमन्त्रालय दिने छैनन् । बरु, आफ्ना विश्वासपात्र तथा सफल अर्थमन्त्री भइसकेका विष्णु पौडेलको पुनरागमन हुने संभावना बढेको स्रोतहरु बताउँछन् । 

माधव नेपाल, प्रचण्ड लगायतको समूहले सुरेन्द्र पाण्डेलाई समेत अर्थमन्त्री बनाउनुपर्नेमा जोड गरिरहेको छ । तर, पाण्डे ओलीका विश्वासपात्र होइनन् । धेरै दवाब भएको खण्डमा मात्रै गौतमभन्दा केही सहज विकल्पको रुपमा पाण्डे ओलीको रोजाईमा पर्नसक्छन् । नभए अर्थमन्त्रीको रुपमा पौडेल नै आउने अवस्था बनेको स्रोत बताउँछ । 

यदि पौडेल सरकारमा सहभागी हुन नचाहेको खण्डमा भने प्रदीप ज्ञवाली समेत अर्थमन्त्री बन्नसक्ने संभावना रहेको स्रोतहरु दाबी गर्छन् । 

अब खतिवडा के गर्लान् ? 
अर्थमन्त्रीबाट बहिर्गमनमा पर्ने लगभग निश्चित भएपछि डा. खतिवडा के गर्लान् ? ओली निकट स्रोतका अनुसार अर्थमन्त्री बनाउन नसके पनि ओलीले खतिवडालाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार बनाउनसक्छन् । 

खतिवडाले अमेरिकाका लागि नेपाली राजदूत बनाउनुपर्ने माग गरिरहेका छन् । तर, ओलीले आफूलाई सहयोग गर्न विज्ञ आवश्यक रहेको भन्दै आर्थिक सल्लाहकारको जिम्मेवारी दिनसक्छन् । र, ती सल्लाहकारको सल्लाहमा अब नियुक्त हुने अर्थमन्त्रीलाई समेत खतिवडाकै लाइनअनुसार काम गर्न दवाब दिनसक्छन् ।