काठमाण्डौ । आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्सपो २०२२ सुरु भएको छ। 

काठमाण्डौको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थालमा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलन बाबु श्रेष्ठले एक्सपोको उद्घाटन गरेका हुन्।

एक्सपो उद्घाटन गर्दै मन्त्री श्रेष्ठले स्वदेशी उत्पादनको बजार बिस्तार भईरहेको देख्दा खुसी लागेको बताएका थिए। फर्निचरजन्य उत्पादनको परनिर्भरता घट्दै गइरहेको अवस्थामा यसलाई थप तिब्रता दिनु पर्ने भन्दै उनले सरकार, व्यवसायी सबैले मिलेर अघि बढ्नु पर्नेमा जोड दिए।

एक्सपो आयेजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले व्यवसायीको पहलले मात्र निर्यातको बाटो पहिल्याउन सजिलो नभएको भन्दै राज्यले अग्रसरता लिनुपर्नेमा जोड दिए। स्विदेशी उत्पादनको प्रवर्द्धनका लागि नै एक्सपो आयोजना गरिएको उनको भनाई थियो।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा ५ दिनसम्म चल्ने एक्सपोले फर्निचर तथा फर्निसिङका आयातित उत्पादनलाई प्रतिष्थापन गर्न टेवा पुर्याउने अपेक्षा गरिएको छ। हरेक दिन बिहान १० बजेदेखि अवलोकनकर्ताका लागि एक्सपोस्थल खुल्ला गरिने एक्सपोको व्यवस्थापक इभेन्ट सोलुसन प्रालिले जनाएको छ। साँझ ६ बजेसम्म प्रवेशद्धार खुल्ला राखिनेछ।

प्रदर्शकहरुले चाडपर्वलाई लक्षित गरी एक्सपो अवलोकनकर्तालाई विभिन्न किसिमका अफरहरु सञ्चालन गर्नेछन्। विभिन्न ब्राण्डका प्रदर्शकहरुले वस्तु तथा सेवा हेरी अवलोकनकर्तालाई फर्निचर तथा फर्निसिङ, होम अप्लाइन्सेजलगायतका सेवा तथा उत्पादन अफरमा उपलब्ध गराउने छन्। यसका साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ। 

१०० भन्दा बढी प्रदर्शनी कक्ष रहेको एक्सपो अवलोकनका लागि प्रवेश निशुल्क गरिएको छ। अवलोकनकर्ताले निशुल्क प्रवेशका लागि आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनुपर्नेछ। साथै एक्सपोको डिजिटल पेमेन्ट पार्टनर डिजी पेमार्फत पनि निःशुल्क प्रवेश पास पाउन सकिनेछ। 

प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्सपोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाइटेड फोम एन्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन्। एक्सपोको डिजिटल पेमेन्ट पार्टनरमा डिजि पे छ भने स्पेस म्यागिजिन, नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एशोसियसन नेपालको सहयोग छ। एक्सपोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको समर्थन छ। 

बदलिँदो आधुनिक जीवन शैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्सपो उचित गन्तव्य हुने आयोजकको विश्वास छ। किचेन, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, कार्पेट,  पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षणका रुपमा रहनेछन्। 

पाँच दिन चल्ने एक्सपोमा १ लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ। संघले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा वर्षेनी फर्निचर तथा फनिसिङ सामग्रीको बृहत् मेला ‘फर्नेक्स नेपाल’को आयोजना गर्दै आएको छ।