काठमाण्डौ । मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौ र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुका साथै अनलाइन टिकट सेवा सुरु गरेको छ। 

यो सेवापछि  अस्पतालमा जचाउँन बिहानैदेखि घन्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीले छुटकारा पाउनेछन्। यो सेवा स्वास्थ्य क्षेत्रअन्तर्गतमा मिदास टेक्नोलोजी सफ्टवेरमार्फत सुरु गरिएको छ। 

बिरामीहरु आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुनेहुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ। विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा झनै बढी प्रभावकारी हुने विश्वास लिइएको छ। 

यो सेवा हाललाई टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै अरु मिदास टेक्नोलोजीले उपलब्ध गराइएको सफ्टवेर प्रयोगकर्तामाझ अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ।

मिदास टेक्नोलोजी स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एक विश्वसनीय कम्पनी हो। विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ। कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर)का आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरुको व्यवस्थापन पूर्ण रुपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ। मिदासले देशभरका १ सय ७० भन्दा बढी अस्पताललाई व्यवस्थापन पद्दतिमा सहयोग गर्दै आइरहेको छ।

हाल मिदास टेक्नोलोजीले मेरो डाक्टर मोबाइल एप तथा वेभमा मेरोडक्टर डट कममार्फत अनलाइन टेलिमेडिसन सेवासमेत प्रदान गर्दै आइरहेको छ। यसका साथै मेरो डाक्टर मोबाइल एप तथा मेरोडक्टर डट कममार्फत उपलब्ध केही पूर्णकालीन चिकित्सकहरुसँग बिरामीले दैनिक रुपमा बिहान ७ः०० बजेबाट राति ९ः०० बजेसम्मको समयमा तत्काल निः शुल्क परामर्श लिन सकिन्छ।