काठमाण्डौ । नेपाल रेमिट इन्टरनेसनल प्रालि र राष्ट्रिय वाणिज्य बैंकबीच वैदेशिक रेमिट्यान्स बैंकिङ च्यानलमार्फत भुक्तानी गर्नेसम्बन्धी सम्झौता भएको छ। 

सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

विगत १७ वर्ष देखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेसनल तथा देशभरि २६५ वटा शाखा कार्यालय र ४६ वटा एक्सटेन्सन काउन्टर रहेको राष्ट्रिय वाणिज्य बैंकबीचको सम्झौतापश्चात नेपाल रेमिटमार्फत विश्वका विभिन्न स्थानहरुबाट बैंकिङ च्यानलमार्फत पठाएको रकम देशको ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैंकको शाखा कार्यालयमार्फत सरल तरिकाबाट रकम प्राप्त गर्न सक्नेछन्। 

यसका साथै राष्ट्रिय वाणिज्य बैंकसँगको सम्झौतासँगै नेपाल रेमिट इन्टरनेसनलले अब देशभर १२ हजारभन्दा बाढी स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्नेछ।

नेपाल रेमिट इन्टरनेसनल विगत १७ वर्षदेखि रेमिट्यान्सको क्षेत्रमा काम गर्दै आएको संस्था हो। विशेषगरी डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिने नेपाल रेमिटले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम बैंक डिपोजिट सेवालाई प्रभावकारी रुपमा प्रदान गर्दै आएको छ। जसले गर्दा नेपालमा रेमिट्यान्स भित्र्याई देशको अर्थतन्त्र सुदृढीकरणमा समेत टेवा पुग्ने गर्दछ। यस सम्झौतासँगै विदेशबाट पठाएको रकम बैंकिङ च्यानलमार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजीकरण हुने साथै यसले नेपालमा रेमिट्यान्स भित्र्याउनसमेत टेवा पुर्याउने जानकारी नेपाल रेमिट इन्टरनेसनलका नायब महाप्रबन्धक देवबहादुर थापाले दिए।