काठमाण्डौ । नेपाल सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) ले आज मंसिर ९ गतेबाट औपचारिक रुपमा ‘आईआईडीएस फेलोसिप कार्यक्रम’ सुरुआत गरी ४३ औँ वार्षिकोत्सव मनाएको छ।
कार्यक्रमका अवसरमा आईआईडीएस, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र गाउँपालिका राष्ट्रिय महासंघ नेपालबीच आपसी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। सन् २०१६ मा सार्वजनिक नीतिमा स्नातकोत्तर (मास्टर्स इन पब्लिक पलिसी) कार्यक्रम सुरु गर्न आईआईडीएस र काठमाण्डौ विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
फेलोसिप कार्यक्रमको मुख्य उद्देश्य शिक्षित युवाहरुको क्षमता अभिवृद्धि गर्ने र उनीहरुलाई एक वर्षसम्म नेपालका स्थानीय सरकारहरुसँग संलग्न भई सार्वजनिक प्रशासन र सेवा प्रवाह, नेतृत्व, नीति निर्माण र अनुसन्धान कार्यमा प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर प्रदान गर्नु हो। यी विश्वविद्यालयबाट भर्खरै मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका कार्यक्रममा स्नातकोत्तर पूरा गरेका १०० युवालाई प्रत्येक वर्ष यो अवसर प्रदान गरिनेछ।
पहिलो चरणको कार्यक्रम सन् २०२२ मा हुने स्थानीय निर्वाचनपछि सुरु गरी पाँच वर्षको अवधिमा कार्यान्वयनमा ल्याइनेछ। पहिलो चरणअन्तर्गतको यो कार्यक्रम सफल र उपयोगी भए दोस्रो चरणमा सरकारले यो कार्यक्रमलाई संथागत गर्ने विश्वास लिइएको छ।
सोही अवसरमा आईआईडीएस र सांग्रिला डेभलपमेन्ट बैंक तथा आईआईडीएस र प्रभु क्यापिटल लिमिटेडबीच सो कार्यक्रमका लागि आर्थिक स्रोत जुटाउनेसम्बन्धी छुट्टा छुट्टै समझौतापत्रमा हस्ताक्षर भएको छ। आईआईडीएसले यस कार्यक्रमका लागि नेपाल धितोपत्र बोर्डमा सूचीकृत विभिन्न पब्लिक लिमिटेड कम्पनी र व्यावसायिक रूपमा सञ्चालित प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक समूहले व्यवस्थापन गर्ने सामाजिक उत्तरदायित्व कोषबाट आर्थिक सहयोग जुटाउने लक्ष्य राखेको छ।
काठमाण्डौको मण्डिखाटारमा अवस्थित आईआईडीएस एक स्वतन्त्र, गैरसरकारी र गैरनाफामूलक शोधमूलक (थिंक ट्यांक) संस्था हो। विगत ४३ वर्षदेखि आईआईडीएसले दिगो विकासका लागि आवश्यक पर्ने नीति निर्माणका लागि प्रमाण तथा तथ्यमा आधारित अध्ययन, अनुसन्धान तथा शोध गर्दै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago