काठमाण्डौ । यस वर्षको चाडपर्वलाई लक्षित गरी बैंकहरुले विभिन्न अफर सार्वजनिक गरेका छन्। 

नेपालीहरुको महान पर्व दसैँ औपचारिक रुपमै सुरु भइसकेको छ। दसैँलाई लक्षित गरी झन्डै आधा दर्जन बैंकहरुले ग्राहकका लागि आकर्षित योजना सार्वजनिक गरेका हुन्। 

उसो त बैैंकहरु हरेक वर्ष नै यस्ता योजना ल्याउने गर्दछन् । बैंकहरुले यस वर्ष आकर्षक क्यासब्याको अफर, बैंकका तर्फबाट आकर्षक दक्षिणा, हरेक दिन १ लाख जित्ने तथा स्र्माफोन जित्ने मौकासम्मका योजना ल्याएका छन्। एनआईसी एशिया, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य, कामना सेवा विकास र एनएमबी बैंकले यस्ता योजना अघि सारेका हुन्। 

कुन बैंकका कस्ता योजना ?

एनआईसी एशिया बैंक

यो बैंकले बडादसैँ, दीपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा ‘एनआईसी एशियामा रेमिट्यान्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ। यो योजनाअनुसार एनआईसी एशिया बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्ने ग्राहकलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको छ। बैंकले असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुने गरी ल्याएको यो योजना विश्वका विभिन्न देशहरुबाट स्वदेशमा पठाएको रेमिट्यान्सको हकमा लागू हुनेछ। विदेशमा रहेका आफन्त वा साथीहरुले पठाएको रेमिट्यान्स यस बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाका रुपमा थप ३०० प्रदान गर्ने व्यवस्था गरेको छ।

सिद्धार्थ बैंक

सिद्धाथले दसैँलाई लक्षित गर्दै ‘दसैँको बहार, क्यासब्याक उपहार’ योजना ल्याएको छ। डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले असोज ८ गतेदेखि लागू हुने गरी यो योजना ल्याएको हो। यस योजनाअन्तर्गत ग्राहकले असोज ८ गतेदेखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलोपटक पीओएस अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत (अधिकतम २००) क्यास ब्याक पाउन सक्नेछन्। उक्त योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ। 

राष्ट्रिय वाणिज्य बैंक

यो बैंकले दसैँ, तिहार एवं छठलगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न प्वइन्ट अफ सेल (पोस) का माध्यमबाट प्रतिकारोबार १ हजार वा सोभन्दा बढीको कार्ड स्विप गर्दा क्यासब्याक हुने अफर ल्याएको छ। यो योजना असोज १० गतेदेखि आउँदो कात्तिक १३ गतेसम्म लागू हुने बैंकले जनाएको छ। देशभर विभिन्न व्यवसायमा रहेका पोसका माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट राष्ट्रिय वाण्ज्यि बैंककै पोस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यासब्याक हुनेछ।  यसअन्तर्गत ३ देखि ५ पटकको कार्ड स्विपमा ५ प्रतिशत अधिकतम क्यासब्याक वा  ५००, ६ देखि १० पटकको कार्ड स्विपमा १० प्रतिशत अधिकतम क्यासब्याक वा ७५०, ११ देखि १५ पटकको कार्ड स्विफमा १५ प्रतिशत अधिकतम क्यासब्याक वा १ हजारमध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुनेछ।

यस्तै असोज ७ देखि असोज १४ गतेसम्म र कात्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा १०० जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुनेछ।

एनएमबि बैंक

यो बैंकले आफ्ना ग्राहकलाई कार्ड र मोबाइल बैंकिङ छुट र क्यासब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको छ। दसैँलाई लक्षित गरी २ हजार रुपैयाँसम्म छुट सुविधाहरु प्रदान गरेको जानकारी बैंकले गराएको छ। एनएमबि बैंकले असोज १० देखि बडादसैँमा बडा डिजिटल धमाका सुरु गरेको हो। जसअन्तर्गत ग्राहकले मोबाइल बैंकिङ र कार्ड प्रयोग गर्दा २ हजार रुपैयाँसम्म पैसा बचत गर्न सक्नेछन्। 

डेबिट कार्डः एनएमबि बैंकको ग्राहकले डेबिट कार्डबाट ई–कमर्स वा पोसमा कारोवार गर्दा १० प्रतिशत वा ३०० सम्म क्यासब्याक पाउनेछन्।

क्रेडिट कार्डः एनएमबि बैंकको ग्राहकले क्रेडिट कार्ड बाट ई–कमर्स वा पोसमा कारोबार गर्दा २० प्रतिशत वा ५०० सम्मको क्यासब्याक पाउनेछन्। यस्तै ईएनएमबि एपः एनएमबि बैंकको ग्राहकले ईएनएमबि एपबाट एनटीसी वा एनसेल टपअपमा ३ प्रतिशत तत्काल क्यासब्याक अफर पाउनेछन्। त्यसका साथै ईएनएमबि एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा २०० सम्मको क्यासब्याक पाउनेछन्।

एनएमबिका ग्राहकले निम्न छुट र क्यासब्याक सुविधा तल उल्लेखित व्यापारिक स्थानमा प्राप्त गर्न सक्नेछन्-

कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंकले फोनपे क्यूआर ग्राहकलाई चाडपर्वको समयमा डिजिटल भुक्तानी गरी चाडपर्व अझै रमाइलो र भुक्तानी सहज गर्ने उद्देश्यले चाडपर्व अफर ल्याएको छ। यो योजनाअनुसार बैंकले आफ्ना फोनपे क्यूआर ग्राहकलाई असोज ९ गतेदेखि लागू हुने गरी डिजिटल भुक्तानीमार्फत आकर्षक छुट प्रदान गर्नेछ। ‘यस चाडपर्व लाइफ इजी बनाऔँ, नगद छोडौँ फोनपे गरौँ’ भन्ने नाराका साथ क्यूआर ग्राहकले क्यूआर प्रयोग गरी भुक्तानी गरेमा भुक्तानी रकमको १० प्रतिशत वा १०० सम्म छुट प्राप्त गर्न सक्नेछन्। 

यसका साथै फोनपेबाट क्यूआर, आईबीएफटी तथा अनलाइन पेमेन्ट गर्दा ग्राहकले हरेक दिन १ लाख जित्न सक्ने बैंकले जानकारी दिएको छ। यस्तै फोनपे क्यूआरबाट भुक्तानी गर्दा व्यवसायीले हरेक दिन स्मार्टफोन जित्न सक्नेछन्। ग्राहकले यो लक्कीड्रमा सहभागी हुन फोनपे अफर एपमा गई फेस्टिभल च्यालेन्स एसेप्ट गर्नुुपर्नेछ।