काठमाण्डौ । नेपालमा नवप्रवर्तनकारी व्यवसाय (स्टार्टअप) को प्रवर्द्धनका लागि कन्फेडेरेसन नेप्लिज इन्डिस्ट्रिज योङ इन्टरपेनर्स फोरम (सीएनआईवाईईएफ) ले आगामी जुन २५ मा ‘सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्ट’ आयोजना गर्ने भएको छ।

होटेल सोल्टीमा हुने कार्यक्रममा करिब ३ हजार स्वदेशी तथा विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्थी, बुद्धिजीवी, पत्रारलगायतको सहभागिता रहने अनुमान गरिएको छ।

नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायीलाई अर्थतन्त्रको महत्वपूर्ण अंगका रुपमा स्थापित गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको सीएनआईवाईईएफका अध्यक्ष अमुन थापाले बताए। स्टार्टअपलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको भन्दै उनले त्यसको कार्यान्वयनका लागि समितिले सरकारसँग सहकार्यमा काम गर्न सक्ने बताए। 

थापाले व्यवसायका स्वरुपहरु परिवर्तन भइरहेको र नयाँ क्षेत्रहरुमा काम गर्ने सम्भावना रहेको उल्लेख गरे।

आयोजना गर्न लागिएको कार्यक्रममा स्टार्टअपले लगानीका लागि प्रस्ताव पनि पेस गर्ने व्यवस्था मिलाइएको छ। CNIYEF Nepal StartUp Fest को अफिसियल वेबसाइट https://startup.cniyef.org/ मार्फत आवेदन पेस गर्न सकिने सीएनआईवाईईएफका निवर्तमान अध्यक्ष चाङ अग्रवालले बताए। 

स्टार्टअपहरुलाई लगानीको आवेदनका लागि यही जेठ २७ गतेसम्म समयावधि तोकिएको छ। ‘यस्तो कार्यक्रम नेपालको इतिहासमा नै पहिलोपटक हुन लागेको हो’, चाङले भने, ‘हामीले ४ मिलियन डलरबराबरको लगानीका लागि आशयपत्रमा हस्ताक्षर गरिसकेका छौँ।’

चाङका अनुसार Team Venture, Global Equity Fund, Aadhyanta Fund Management, Himalayan Capital र Televenture Partner Pvt. Ltd. ले संयुक्त रुपमा करिब ५० करोडको आशय दिइसकेका छन्। 

सोही कार्यक्रममा विभिन्न विधाका ७ वटा स्टार्टअपहरुलाई सम्मानित गरिनेछ। कार्यक्रममा ५० वटाभन्दा बढी स्टार्टअपले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। 

कार्यक्रममा सहभागी हुन फेस्टको अफिसियल वेबसाइट https://startup.cniyef.org/ मा आफ्नो नाम दर्ता गर्न सकिनेछ।