काठमाण्डौ । बहुचर्चित भरतपुर महानगरपालिकाको वडानम्बर १९ को २ हजार ७ मत गन्दा एमालेका देवी ज्ञवालीसँग माओवादीकी रेणुु दाहालले मतान्तर घटाएकी छिन् । 

यो वडामा २ हजार ८ सय ७० मत खसेको थियो । त्यसमध्ये २ हजार ७ मत गन्दा एमालेका देवी ज्ञवाली ४ सय १७ मतले अगाडि छन् । हालसम्म देवी ज्ञवालीले ४१ हजार ६ सय ६९ मत ल्याएका छन् भने रेणुुले उनलाई ४१ हजार २ सय ५२ मतले पछ्याइरहेकी छिन् । 

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले शनिवार रातिसम्म अन्तिम मतपरिणाम सार्वजनिक भइसक्ने बताएका छन् । उनका अनुसार २० नम्बर वडाको मतगणना कार्य समेत आजै सम्पन्न गरी रातिसम्म अन्तिम परिणाम सार्वजनिक गरिनेछ ।

वडानम्बर २० लाई कांग्रेसले आफ्नो पकड क्षेत्र मान्छ । यो वडाबाट कांग्रेस समर्थित माओवादी उम्मेद्वार रेणुु दाहालले राम्रै मतअन्तरले देवीलाई उछिन्ने र समग्रमा जित्ने कांग्रेस माओवादी गठबन्धनको विश्लेषण छ । तर, एमालेका नेताहरु समेत २० नम्बरमा पहिला नै खसेको मत रहेकोले त्यहाँ माओवादीले दुःख दिएका कांग्रेस कार्यकर्ता धेरै रहेकोले क्रस भएर मेयरको भोट आफूतिर आउने दाबी गर्छन । सो वडामा आफूहरुको उपस्थिति समेत बलियै रहेको उनीहरुको तर्क छ । दुवैको आ आफ्नो पक्षलाई टेवा पुुग्ने तर्कका कारण भरतपुरको मतपरिणाम झन् झन् रोमाञ्चक बन्ने देखिन्छ । 

यो महानगरमा उपमेयरमा कांग्रेस उम्मेद्वार पार्वती शाहले एमालेकी दिव्या आचार्य भन्दा ७ हजार बढी मतको अन्तर लिइसकेकी छिन् । तसर्थ उपमेयरमा उनी निर्वाचित हुने निश्चित छ । 

भरतपुरको कर्भड हलमा जारी मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना स्थलमा ३ वटा सिसि टिभी क्यामरा जडान गरिएको छ भने तार जाली लगाएर गणक र पार्टी प्रतिनिधिलाई छुट्ट्याएर राखिएको छ ।