काठमाण्डौ । हिमालयन बैँकको हिमाल रेमिट र युएइमा रहेको रेमिट कम्पनी यूएई एक्चेन्जको सहकार्यमा ‘दसैँ आयो रेमिट गरौँ हिमालबाट १० लाख जितौँ’ नामक योजना सार्वजनिक गरेको छ ।

लगातार ६ हप्तासम्म चल्ने योजनामा हरेक हप्ता यूएईको कुनै पनि युएई एक्चेन्जबाट नेपालमा हिमाल रेमिटमार्फत रेमिट गर्ने ५ जना भाग्यशाली नेपालीले १ लाख जित्नेछन् भने बम्पर उपहारमा १ जनाले ५ लाख नेपाली रुपैया जित्न सक्ने हिमालयन बैकका यूएई प्रमुख कमल पराजुलीले विजशालालाई जानकारी दिए ।

गत अगस्ट महिनाको २५ तारिखबाट सुरु भएको यस योजनाअन्तर्गत २ जना नेपालीलो एक/एक लाख रुपैयाँ जितिसकेका छन् भने अरु ३ जनाले एक/एक लाख र भाग्यसाली १ जनालो ५ लाख रुपैयाँ जित्ने अवसर बाँकी नै रहेको यूएई एक्चेन्जका बजार प्रबन्धक सन्तोष प्रसाई बताउँछन् । अहिलेसम्म भाग्यशाली बन्ने नेपालीमा मकवानपुर फापरबारीकी उर्मिला माया मोक्तान र काभ्रेपलान्चोकका सुमन मगर छन् ।

गत वर्षको दसैँमा पनि यही योजना ल्याएका यी दुई रेमिट्यान्स सेवा प्रदायकले आफ्ना ग्राहकलाई केहिमात्रामा भए चाडबाडको समयमा खुसीको योजनालाई निरन्तरता दिएको बताउँछन् । 

यसैगरी आईएमईले पनि दशैँ अफरअन्तर्गत ‘आइएमई गरौँ डबलको डबलको डवल जितौँ’ नामक योजना सार्वजनिक गरेको छ ।

आइएमईले सार्वजनिक गरेको यो योजनाअन्तर्गत हरेक दिन आइएमई गर्ने एकजनालाई मोबाइल वालेटमा रकम पठाउँदा डबल रिवार्ड पोइन्ट, हरेक हप्ता दुईजनालाई पठाएको रकमको डबल रकम र मासिक उपहारमा दुईजनालाई पठाएको रकमको डबलको डबल उपहार प्रदान गर्ने बताइएको छ ।

भदौ १५ गतेदेखि कार्तिक महिनाको ३० गतेसम्म चालु रहेको यो योजनामा यूएईबाट अल अन्सारी एक्चेन्ज र अल अहलिया एक्चेन्जमार्फत पैसा पठाउने २ जना भाग्यशालि ठहरिसकेका छन् । योजनाको पहिलो र दोस्रो हप्ताको विजयीमा क्रमशः महेश आले मगर र विजय नेपालीले पठाएको रकमको डबल रकम पुरस्कार जित्न सफल रहेको आईएमईका युएई प्रमुख उत्तम बस्नेतले बताए । 

दशैँतिहार लक्षित गरेर सार्वजनिक गरेको योजना नोभेम्बर महिनाको १६ तारिखसम्म जम्मा ७७ दिनका लागि सन्चालनमा रहेको आईएमई युएईका बजार अधिकृत ईश्वर अधिकारी बताउँछन् । देशमा दशैँले छपक्कै छोपेपछि युएईमा रहेका नेपाली रेमिट्यान्स कम्पनीले पनि दशैँ खर्च पठाउने नेपालीलाई वैद्यानिक बाटोबाट रेमिट गराउने गरी आआफ्ना योजना अघि सारेका छन् ।

पछिल्लो समय सुनको मूल्यमा विश्वव्यापी वृद्ध भएपछि  हुन्डीका ग्राहकसमेत वैद्यानिक रेमिट्यान्सका लागि रेमिट हाउसतिर धाउन थालेको अवस्थामा रेमिट कम्पनीका योजनाले विदेशमा रहेका नेपालीलाई आकर्षितसमेत गरिरहेको पाइन्छ ।

झनै नेपाल सरकारले हालै सार्वजनिक गरेको वैदेशिक रोजगारीमा जाने नेपालीले श्रम स्वीकृति लिनको लागि अनिवार्य रुपमा बैक खाता र स्टेटमेन्ट, चेक बुकलगायतका कागजपत्र पेस गर्नुपर्ने नियमका कारण पनि विदेशमा कार्यरत नेपालीलाई वैद्यानिक रेमिट हाउस धाउनुपर्ने अवस्था अनिवार्य भएको छ।