काठमाण्डौ । संसारका २०० बढी मुलुकबाट डिजिटल प्रविधिमार्फत सुलभ दरमा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको इसेवा मनी ट्रान्सफर र रोमानियाको प्रथम मनी ट्रान्सफर कम्पनी स्मिथ एन्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। 

सम्झौतासँगै रोमानियामा अध्ययन, काम तथा बसोवास गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई, स्मिथ एन्ड स्मिथका रोमानिया भरिरहेका कुनै पनि शाखाबाट सीधै  नेपालमा सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा पठाउन सक्नेछन्। यसका साथै देशभरि ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इसेवा वालेटमा समेत तुरुन्तै रकम पठाउन सकिन्छ। 

यसैगरी रोमानियाको स्मिथ एन्ड स्मिथबाट आएको रेमिट्यान्स नेपालभर रहेका इसेवा मनि ट्रान्सफरका १८ हजारभन्दा धेरै एजेन्ट तथा नेटवर्कको सञ्जालबाट समेत तुरुन्तै प्राप्त गर्न सकिनेछ । इसेवा वालेटमा रेमिट्यान्स् पठाउँदा अतिरिक्त रु. ७७ बोनस रकमसमेत प्राप्त गर्न सकिनेछ। 

हाल इसेवा मनी ट्रान्सफरको ‘रेमिटोत्सव’ योजना चलिरहेको हुनाले स्मिथ एन्ड स्मिथबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पैसा पठाउँदा दैनिक रु. ५ हजार तथा बम्परमा रु. ५० हजार रुपैयाँसमेत जित्न सकिनेछ।

रेमिट्यान्स् भुक्तानी सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र स्मिथ एन्ड स्मिथबाट प्रशासक जर्जेटा पोक्नेजले हस्ताक्षर गरेका छन्। 

सम्झौताबारे इसेवा मनी ट्रान्सफरका सीईओ अजेस कोइरालाले भने, ‘रोमानियामा पहिलादेखि नै नेपालीहरु अध्ययन, काम र बसोबास गर्दै आएका छन् र यस सम्झौतामार्फत हामी उनीहरुलाई डिजिटल माध्यमबाट नेपाल पैसा पठाउन सहज बनाउन चाहान्छौँ। साथै, कम सेवा शुल्कमा तुरुन्तै रेमिट्यान्स पठाउन सकिने भएकाले पनि सेवाग्राहीले स्मिथ एन्ड स्मिथ र इसेवा मनी ट्रान्सफरमार्फत नै नेपाल रेमिट्यान्स पठाउने कुरामा हामी विश्वस्त छौँ।’

स्मिथ एन्ड स्मिथ सन् १९९९ मा स्थापना भएको रोमानियाकै पहिलो मनी ट्रान्सफर कम्पनी हो भने यसलाई सन् २०११ मा रोमानियाको राष्ट्रिय बैंकले पेमेन्ट इन्स्टिट्युसनको मान्यता प्रदान गरेको थियो। यो कम्पनीले विगत २० वर्षदेखि आफ्ना ग्राहकलाई १०० भन्दा बढी शाखामार्फत सस्तो र शुलभ दरमा छिटो र भरपर्दो मनी ट्रान्सफर सेवा प्रदान गर्दै आइरहेको छ। मल्डोभामा समेत आफ्नो सेवा विस्तार गरिसकेको यस कम्पनी सन् २००७ देखि मनिग्रामजस्तो संसारकै अग्रणी मनी ट्रान्सफर सेवा प्रदायकको एजेन्टसमेत रहेको छ।

इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताको र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीलाई १८ हजारभन्दा बढी एजेन्ट तथा नेटवर्कमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थालाई फिनटेकमा आधारित भक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।