काठमाण्डौ । साता लामो लकडाउनका कारण बजार क्षेत्र सुनसान छ । मानिसहरु कोरोना संक्रमण हुने डरले घरबाहिर निस्किन सकेका छैनन् । यस्तो अवस्थामा घरबाटै फोनमार्फत कहीँ अर्डर गरेर आफूलाई आवश्यक परेको सामान घरमै आइपुग्यो भने खुशी नलाग्ने कुरै हुन्न । 

कतिपयलाई यी कुरा भनिरहँदा यूरोप वा अमेरिकामा मात्र यो कुरा संभव रहेको, नेपालमा भने लकडाउनको अवधिमा यो असंभव रहेको भन्ने पनि लाग्ला । तर, जब घरमा अत्यावश्यक सामान सकियो, सेलिब्रेटी बैंकर अनिलकेशरी शाहले टेलिफोन गरी अर्डर गरे । अर्डरको केही क्षणमै उनले मगाएको सामानसहित भाटभटेनी सुपरमार्केटबाट सामान बोकेको भ्यान उनको घरमै आइपुग्यो । 

गृह मन्त्रालयले उपत्यकाभित्रका अत्यावश्यक खाद्यान्न बिक्री गर्ने स्टोरहरुलाई नागरिकहरुको घर घरमा होम डेलिभरीको व्यवस्था मिलाउन निर्देशन दिएसँगै भाटभटेनी सुपरमार्केटले यो सुविधा सुरु गरेको छ । यो सुविधा अन्तरगत पहिलो अर्डरको डेलिभरी गर्न अनिल शाहको घरमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ नेतृत्वको टिम नै पुगेको थियो । 

भाटभटेनी प्रमुखको टिमसहित आफूले अर्डर गरेका सामान घरमै आएपछि बैंकर शाह मख्ख देखिएका थिए । 

सोही बेला उनले खुशी भएर एक भिडियो रेकर्ड समेत गर्न भ्याए । ‘लकडाउनको बेला सबैको चिन्ता छ, कहाँबाट लिने दालचामलदेखि दैनिक आवश्यक सबै चिजहरु ? त यही अप्ठ्यारोको बेला हामीलाई भाटभटेनी सुपरमार्केटले उद्धार गरेको छ ।’ उनले भिडियोमा भनेका छन–‘भाटभटेनीको वेबसाइटमा फोन नम्बर रहेछ, त्यहाँ तपाईले पनि अर्डर गर्न सक्नुहुन्छ, उहाँहरुले अर्डरअुनसार डेलिभरी गर्नुहुन्छ ।’ 

उनले सो क्रममा कालो मास्क र ग्लोब्स लगाएर सामानसहित पुगेका मीनबहादुरको समेत प्रशंसा गरेका छन् । ‘अर्डर मात्र गर्नुपर्ने रहेछ, भाटभटेनीले तुरुन्तै डेलिभरी गरिदिने रहेछ ।’ नवील बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका शाहले भनेका छन्–‘यो सेवा यस्तै समयमा चाहिने हो, त्यसका लागि भाटभटेनीलाई धेरै धेरै धन्यवाद ।’ 

उनले फेसबुकमा एक स्टाटस पोस्ट गर्दै भाटभटेनीले कुनै पनि डेलिभरी चार्जबिनै अर्डर गरिएको सामान घरमै ल्याइदिने समेत सुनाएका छन् । 

भाटभटेनीले घरमै सामान ल्याइदिएपछि बाहिर निस्किरहन आवश्यक नभएको र यसले कोभिड १९ संक्रमणको जोखिम पनि कम हुने बैंकर शाहको ठम्याई छ । 

स्मरणरहोस्, गृहमन्त्रालयमा बिहीबार बसेको बैठकले उपत्यकाभित्रका सबै अत्यावश्यक खाद्य स्टोरहरुलाई भ्यानमार्फत नागरिकले अर्डर गरेको खाद्य सामाग्री घर घरमै डेलिभरी गर्ने व्यवस्था मिलाउन पुनः निर्देशन दिएको छ । 

भाटभटेनी बाहेकका उपत्यकाका अन्य स्टोरहरुले पनि ढिलोचाँडो यस्तो सेवा उपलब्ध गराउनुपर्नेछ । 

भाटभटेनी सुपरमार्केटले कल, भाइबर वा ह्वाट्सएपबाट कल र म्यासेजमार्फत् डेलिभरीको सेवा सुरु गरेको छ । आवश्यक पर्ने डेलिभरी भ्यान लाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने व्यवस्था गरेपछि भाटभटेनीले ९८०१२४६८०६, ९८०१२४१४४९, ९८०१११८८३७ फोन मार्फत् अर्डर गर्ने व्यवस्था गरेको हो ।