काठमाण्डौ । नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्स प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच एसएमएल इसुजुका स्कुल बस, रुटबस, ट्रक, टिपर आदिमा लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ। 

सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट डेपुटी जेनरल मेनेजर गौरब कुमारले तथा लक्ष्मी कमर्सियल भेहिकल्सका तर्फबाट सेल्स एन्ड अपरेसन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरेका छन्। यो सम्झौताअनुसार एसएमल इसुजुका ग्राहकले आज वैशाख १३ गतेदेखि नै ऋण सुविधा लिन सक्ने जनाइएको छ। 

लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औद्योगिक तथा ब्यापारिक घराना हो। लक्ष्मी ग्रुप हुन्डाईका प्यासेन्जर कारहरु, बीएमडब्ल्यूका कारहरुको नेपालको एकमात्र आधिकारिक बिक्रेता हो। लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु ह्विलर स्कुटरहरु र एसएमएल इसुजुका कमर्सियल गाडीहरुको आधिकारिक बितरक भई कार्य गर्दै आएको छ। 

एभरेष्ट बैंकसँग भएको सम्झौताअनुसार लक्ष्मी कमर्सियल भेहिकल्सले नेपालमा आयात गरेर बिक्री–वितरण गर्ने एसएमएल इसुजुका स्कुल बस, रुटबस, ट्रक, टिपर आदिमा बैंकका नेपालभर रहेका आफ्ना १२४ शाखा कार्यालयमार्फत गाडीको मूल्यको ७०% सम्म कर्जा लगानी गर्नेछ। यसका साथै यस्तो कर्जा बढीमा ७ वर्षसम्मका लागि उपलब्ध हुनेछ। साथै, सर्भिस चार्ज र ब्याजदरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्सियलका बिजेनेस हेड सञ्जय खड्काले जानकारी दिए। 

यो सम्झौतापश्चात दुई संस्थाबीचको व्यापार बढाउन सहयोगी हुने र भविष्यमा पनि सहकार्य गर्दैै अगाडि बढ्ने विचार बैैंकका डेपुटी जेनेरल मेनेजर गौरब कुमारले व्यक्त गरे। 

लक्ष्मी कमर्सियल भेहिकल्सका सबै शाखा कार्यालय र डिलरबाट एभरेष्ट बैंकसँग भएको सम्झौताअनुसार एसएमएल इसुजुका गाडी खरिद गर्ने ग्राहकलाई आवश्यक ऋण लिने प्रक्रियामा सहजीकरण गरिने लक्ष्मी कमर्सियलका नेटवर्क हेड ईश्वर दहालले जानकारी दिए। 

लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्सले नेपालमा एसएमएल इसुजुका कमर्सियल गाडीहरुको आधिकारिक बितरकको रुपमा कार्य गर्दै आएको छ। यसले भारतको चन्डीगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरु नेपालमा आयात गरी नेपालको बजारमा बिक्री–वितरण गर्ने र ती गाडीहरुलाई बिक्रीपछिको सेवा पनि दिँदै आएको छ। 

एसएमएल इसुजुले १४ सिट क्षमतादेखि ५५ सिट क्षमतासम्मका  स्कुल बसहरु, स्टाफ बसहरु तथा ३ टनदेखि ९ टन क्षमताका ट्रकहरुदेखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरु उत्पादन गर्ने गर्दछ। मजबुत वनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरु नेपालमा ग्राहकको रोजाइमा पर्न सफल भएका छन्।