काठमाण्डौ । लक्ष्मी बैंकले सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ।

सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी विषयमा लक्ष्मी बैंक र थुलुङ दूधकोशी गाउँपालिकाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले हस्ताक्षर गरेका छन्। 

सम्झौताअन्तर्गत उक्त गाउँपालिकाको सहजीकरण एवं सिफारिसमा स्थानीय उद्यमी, सहकारीलगायत अन्य संघसंस्थाहरुले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्न सक्नेछन्।

सम्झौता कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले गाउँपालिकाहरुमा कृषि तथा पर्यटनलगायत सम्भाव्यता बोकेका क्षेत्रहरुमा कर्जा लगानी गर्न बैंक तत्पर रहेको धारणा राखे। यो सम्झौताले स्वरोजगार तथा उद्यमशिलता विकास गरी आर्थिक रुपमा सबल गाउँपालिका निर्माण गर्न सहयोग पुग्ने अपेक्षा राखिएको बैंकले जनाएको छ।