काठमाण्डौ । माबिलुङ्ग इनर्जी लिमिटेडले संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गाविसहरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत् आयोजनाका लागि लक्ष्मी बैंकको अगुवाइमा दुई वाणिज्य बैंकहरुले सहवित्तीयकरणअन्तर्गत कर्जा लगानी गर्ने भएको छ। 

लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकले सहवित्तीयरकणअन्तर्गत उक्त आयोजनाको निर्माण लागत ९३ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गर्ने भएका हुन्। कर्जा लगानी गर्ने विषयमा हिजो सोमबार कम्पनी र बैंकबीच सम्झौतापत्र हस्ताक्षर सम्पन्न भएको छ।  

२०७५ साल चैत्र १२ गते माबिलुङ्ग इनर्जी र नेपाल विद्युत प्राधिकरणवीच विद्युत खरिदसम्बन्धी सम्झौता भएको थियो। कम्पनीले ऊर्जा मन्त्रालयबाट मिति गत साउन ९ गते उक्त आयोजनाबाट विद्युत् उत्पादन अनुमति प्राप्त गरेको छ।

माबिलुङ्ग इनर्जीलाई एसियन लाइफ इन्स्योरेन्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन् र सोको अध्यक्ष राजेशलाल श्रेष्ठ रहेका छन्। 

बैंकहरुले आयोजना लागतको ७० प्रतिशत (रु. ६५ करोड ५९ लाख) र बाँकी ३० प्रतिशत कम्पनीको स्वलगानी रहनेछ। उक्त आयोजनाका लागि सहभागी बैंकहरुले गर्ने आवधिक कर्जाअन्तर्गत लक्ष्मी बैंक लिको रु. ३९ करोड ९९ लाख र माछापुच्छ्रे बैंकको रु.२५ करोड ६० लाख लगानी रहनेछ। 
उत्पादन क्षमता ४.९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जीले झन्डै २८.४१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ। यो आयोजना फेबु्रअरी २०२२ मा सञ्चालनमा आउनेछ।

नेपाल विद्युत प्राधिकरणको आर्थिक बर्ष २०१९/२० को समीक्षा प्रतिवेदनअनुसार सो आर्थिक वर्षमा स्वतन्त्र ऊर्जा उत्पादकहरुले जम्मा १५ वटा नयाँ आयोजनामार्फत संयुक्त रुपमा १३५.३९ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। साथै, उक्त १५ वटा आयोजनाहरुलाई समेत समावेश गर्दा जम्मा ९८ वटा आयोजनाहरु सञ्चालनमा आएका छन्। तिनीहरुको संयुक्त उत्पादन ६९६.१७ मेगावाट रहेको छ।