काठमाण्डौ । भारतको पूर्ण हवाई सेवा प्रदायक कम्पनी भिस्ताराले चौथो संस्करणको ‘ट्रिप एडभाइजर ट्राभलर च्वाइस अवार्ड–२०२०’ को ‘बेस्ट एयरलाइन –इन्डिया’ र ‘ट्राभलर्स च्वाइस रिजिनल एसिया अवार्ड’ प्राप्त गरेको छ।

भिस्ताराले विश्वको सबैभन्दा ठूलो ट्राभल साइट ट्रिप एडभाइजरले प्रदान गर्ने ‘बेस्ट एयरलाइन –इन्डिया’ अवार्ड प्राप्त गरेको यो लगातार तेस्रो वर्ष हो। ट्रिप एडभाइजरले १२ महिनासम्म हवाई यात्रुले एयरलाइन्सका लागि दिएको रिभ्यु र रेटिङको परिमाण र गुणस्तरका आधारमा एयरलाइन्सलाई यो अवार्ड प्रदान गरेको हो। 

भिस्ताराका सीईओ लिस्ली चङले भिस्तारा भारतमा मात्रै नभई सिंगो महादेशका उच्च एयरलाइन्स कम्पनीहरुमध्ये उत्कृष्ठ बनेकोले आफूहरुका लागि यो गौरवको विषय भएको बताए। यी अवार्ड एयरलाइन्सका ग्राहकले आफूप्रति देखाएको भरोसा र विश्वासको प्रतीक भएको र यात्रुमाझ प्रत्येक दिन अद्वितीय हवाई अनुभव प्रदान गर्न सबैजना एकताबद्ध भई लागेको जोशपूर्ण कार्यको पहिचान भएको उनले बताए।  

त्यस्तै अवार्ड प्रदान गर्ने ट्रिप एडभाइजरकी प्रमुख व्यावसायिक अधिकृत कनिका सोनीले सन् २०२० को ट्राभलर्स च्वाइस अवार्डका विजेताहरुले आफ्नो यो विशिष्टीकृत पहिचानका लागि गर्व महसुस गर्नुपर्ने बताइन्। ‘ट्राभल र हस्पिट्यालिटीका लागि यो वर्ष चुनौतीपूर्ण भए पनि हामी हाम्रा साझेदारका उपलब्धिहरु सेलिब्रेट गर्न चाहन्छौँ’, उनले भनिन्, ‘अवार्डका विजेताहरु वास्तवमै यसको हकदार हुन् र यतिमात्रै नभई विश्व पुनः चलायमान हुन गइरहेका बेला उनीहरु यात्रुका लागि प्रेरणाका स्रोत पनि हुन्।’

भिस्ताराको नाममा परिचित टाटा एसआईए एयरलाइन्स लिमिटेड, टाटा सन्स लिमिटेड र सिंगापुर एयरलाइन्स लिमिटेड (एसआईए) बिचको ज्वाइन्ट भेन्चर कम्पनी हो। कम्पनीमा टाटा सनको ५१ प्रतिशत र एसआईए होल्डिङको बाँकी ४९ प्रतिशत स्वामित्व रहेको छ। 

भिस्ताराले टाटा र एसआईएको दिग्गज र प्रख्यात सेवालाई भारतको पूर्ण हवाई सेवा अनुभवमा प्रदान गर्नका लागि एक ठाउँमा ल्याएको हो। भारतको हवाई उद्योगमा नयाँ मापदण्ड तयार गर्ने उद्देश्यसहित भिस्ताराले सन् २०१५ को जनवरी ९ मा आफ्नो पहिलो व्यावसायिक उडानको थालनी गरेको थियो। अहिले कम्पनीले भारतका विभिन्न गन्तव्यसहित विदेशमा समेत उडान भर्दै आइरहेको छ। 

भिस्तारा एयरलाइन्ससँग अहिले ४२ वटा एयरक्राफ्ट र ३४ वटा एयरबस छन्।