काठमाण्डौ । सेयर बजारमा लगानी गरी अवसर खोज्ने इच्छुक युवाहरुका लागि वीरगन्जमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। 

सन् २०११  मा नेपाल इनभेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित भएको एनआइबिएल एस क्यापिटल लिमिटेड उक्त कार्यक्रममा डीपी पार्टनरका रुपमा उपस्थित भई निःशुल्क डिम्याट खाता खोल्ने कार्यक्रम पनि सञ्चालन गरेको थियो। एनआइबिएल एस क्यापिटलले मर्चेन्ट बैंकिङ, संस्थागत परामर्श सेवा, लगानी व्यवस्थापन सेवा र निक्षेप सदस्यका अन्य वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ।

ब्रोकर नं. २२ सिप्रवी सेक्युरिटिज प्रालिले आयोजना गरेको उक्त कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश एवं नेपाली युवा उद्यमी सञ्जाल वीरगन्ज च्याप्टरको सहकार्यमा वीरगन्जको होटल लर्डस दियालोमा सम्पन्न भएको हो। 

वीरगन्जका विभिन्न आधा दर्जन कलेजका छात्रछात्राको समेत सहभागिता भएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा वीरगन्जका मेयर विजय सरावगीले सेयर बजार पछिल्लो समय अवसर खोज्नेहरुका लागि राम्रो प्लेटफर्म भएको चर्चा गर्दै लगानी गर्दा धेरै कुरामा सचेत भई लगानी गर्ने सुझावसमेत दिए। 

आगामी दिनमा पनि आयोजना हुने यस्ता कार्यक्रममा एनआइबिएल एस क्यापिटलले सहभागी हुने जनाएको छ।