काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा नेपाल धितोपत्र बोर्ड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडकोे सहकार्यमा आइतबार दुई दिने सेयर लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ । 

कास्की जिल्लाको ग्रामीण भेग बिरेठाटीमा आयोजित तालिममा करिब २०० जनाको सहभागिता थियो । 

कार्यक्रममा प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर तथा कम्पनी सचिव बासु थपलियाले समन्वय गरेका थिए भने प्रभु क्यापिटल लिमिटेडको कोष व्यवस्थापनका स्कीम म्यानेजर सौगात पन्तले लगानी सम्बन्धी प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा नेपाल धितोपत्र बोर्डका निर्देशक शंकर प्रसाद रिमालले धितोपत्र बोर्डको स्थापनादेखि हालसम्मको जानकारी, सेयर बजार, प्राथमिक तथा दोश्रो बजार सम्बन्धी आधारभुत कुराहरु, नियमाक निकायको सेयर सम्बन्धी धारणा, सेयर बजारमा उपलब्ध भएका उपकरणहरुको जानकारी, कम्पनीहरुको आधारभूत तथा प्राविधिक विश्लेषणका सम्बन्धमा सामान्य जानकारी, लगानी विविधीकरण बारे जानकारी दिएका थिए ।
 
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका सहायक प्रबन्धक तथा सूचना अधिकृत सुरेश न्यौपानेले आस्बा, सिआस्बा, मेरो सेयर एप सम्बन्धी जानकारी, आईपीओमा आवेदन गर्दा ध्यानदिनु पर्ने कुराहरु, ईडीआईएस तथा केन्द्रिकृत केवाईसीको सम्बन्धमा जानकारी, भौतिक प्रमाणपत्रको डिम्याट गर्ने प्रक्रिया, लगानी गर्दा आफनो अवस्था विश्लेषण गरी लगानी गर्ने जस्ता विषयमा प्रकाश पारेका थिए । 

कार्यक्रमका सहभागीहरुले वर्तमान सेयर बजारमा लगानीकर्ताहरुको प्रवेशका लागि आवश्यक विषयहरु समेटिएको यो तालिम ज्यादै उपयोगी रहेको तथा सेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस्तो प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए । 

कम्पनीले समय- समयमा सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि सेयर तथा पूँजी बजारसँग सम्बन्धित तालिम,कार्यशाला तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ  ।