काठमाण्डौ । यात्रुहरुको प्रतिक्षारत समयमा मनोरञ्जन प्रदान गर्ने मनसायले लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विदूर नगरपालिकाको अनुरोधमा नुवाकोटको बट्टार बसपार्कमा राख्नका लागि एक थान टीभी हस्तान्तरण गरेको छ।

बैंकको शाखा कार्यालयका प्रमुख विश्वम्भरमान सिंह डंगोलले विदूर नगरपालिकाका मेयर राजनलाल श्रेष्ठलाई ४३ इन्चको रंगिन टेलिभिजन एक थान र डिस होम एक थान हस्तान्तरण गरेका हुन्। 

ती सामग्री प्रदान गरेकोमा मेयर श्रेष्ठले लुम्बिनी विकास बैंकलाई धन्यवाद व्यक्त गरे। 

सामान हस्तान्तरण कार्यक्रममा युवा नेता निलमबाबु ढुंगेल, समाजसेवी बद्री त्रिपाठी, सुरक्षाकर्मी, पत्रकारलगायत, बैंकको बट्टार शाखा प्रमुख बिश्वम्भरमान सिंह डंगोल तथा देबीघाट शाखा प्रमुख रमेश कुमार नेपाललगायत अन्य व्यक्तिहरुको समेत उपस्थिति थियो।

बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखा सञ्चालनमा छन्। निकट भविष्यमा काठमाण्डौ उपत्यकामा थप तीन शाखा काठमाण्डौको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक तथा ललितपुरको लेलेमा एक एक्सटेन्सन काउन्टर खोल्ने प्रक्रियामा रहेको छ। 

लुम्बिनीले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ आफ्ना ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दति खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ।