काठमाण्डौ । लुम्बिनी विकास बैंक र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) मधेश प्रदेश समितिबीच सेवासुविधा आदानप्रदान गर्ने सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। 

सम्झौताअनुसार नेशनल प्याब्सन मधेश प्रदेशसँग आबद्ध विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीहरुलाई दुर्घटना बीमाका साथै स्वास्थ्य बीमा सुविधा प्रदान गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेसनल प्याब्सन मधेश प्रदेश समितिका तर्फबाट प्रदेश अध्यक्ष डा. नन्दन यादवले हस्ताक्षर गरेका छन्। 

कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख मोहनराज गिरी, नेसनल प्याब्सन मधेश प्रदेश समितिका प्रदेश सचिव जितेन्द्रप्रसाद यादव, सहसचिव केएस फिजिसियन, सदस्यहरु मालती कुमाल, विजय यादव, बसन्त ढकाल, चन्दन यादव, पर्सा जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठ, सचिव प्रमोद सहनी, कोषाध्यक्ष राजेश लिम्बू, सोनालाल पटेल, उत्तम गुप्तालगायतको उपस्थिति थियो।

बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् भने निकट भविष्यमा काठमाण्डौ उपत्यकामा थप तीन शाखा (जसमा काठमाण्डौको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक) तथा ललितपुरको लेलेमा एक एक्सटेन्सन काउन्टर खोल्ने प्रक्रियामा रहेको छ। 

बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ आफ्ना ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दति खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ।