बुटवल । लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारमा १ महिनामा करिब ३० हजार पर्यटकले यात्रा गरेका छन्।

आईएमई ग्रुपको मुख्य लगानी र स्थानीयको समेत लगानी रहेको लुम्बिनी केबलकार जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको थियो भने जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक उद्घाटन गरेका थिए। १ महिनाको अवधिमा २८ हजार ६७९ जनाले केबलकार चढेका र यसबाहेक विशिष्ट व्यक्ति, कलाकार, सेलिब्रिटीसमेत गर्दा करिब ३० हजार जना पुगेका लुम्बिनी केबलकार प्रालिले जनाएको छ। जसमध्ये ८७.९४ प्रतिशत नेपाली, ७.२५ प्रतिशत भारतीय र तेस्रो मुलुकका ११ जना रहेका छन्। 

केबलकारले बुटवल वडा नंं. ३ र तिनाउ गाउँपालिका–३ का वडावासी स्थानीय र विद्यार्थीलाई टिकटमा २५ प्रतिशत, सशस्त्र प्रहरीलाई २० प्रतिशत छुट दिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएकालाई पनि टिकटमा छुट दिएको छ। 

टप स्टेसनमा कामाख्यादेवी मन्दिर, सय वर्ष पुरानो भगवतीको मन्दिर, भगवान शिवको वाहन नन्दीसहितका धार्मिकस्थल र घुमिफिरका लागि पर्याप्त ठाउँ र संरचनाहरु रहेकाले सञ्चालनमा आएको १ महिनामै उल्लेख्य संख्यामा पर्यटक आएका प्रालिले जनाएको छ। 

२.६ किलोमिटर दूरीको केबलकारको टप स्टेसन समुद्री सतहबाट करिब ३ हजार फिट उचाइमा रहेकाले त्यहाँको हावापानी गर्मी मौसममा शीतल र जाडोमा न्यानो हुने भएकाले आन्तरिक र भारतीय पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ।  

टप स्टेसनमा १ अर्ब ५० करोड लागतमा १५० कोठा, क्यासिनो, एक हजार जना क्षमताको बैंक्वेट हल र स्विमिङ पुलसहितको पाँचतारे होटेल बन्ने प्रक्रियामा रहेको लुम्बिनी केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। लुम्बिनी केबलकार सञ्चालनले बुटवल र पाल्पामा नयाँ पर्यटकीय गन्तव्य थपिएको र यसले पर्यटकको बसाई लम्ब्याउन योगदान पुग्ने उनको भनाइ छ। 

लुम्बिनी केबलकारको सञ्चालनले बुटवलबाट प्रदेशको राजधानी दाङ सरेको क्षतिपुर्ति दिन सक्ने भएकाले यस्ता ठूला परियोजना सफल बनाउन सबैको सहयोग हुनुपर्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू बताउँछन्। 

केबलकारको प्रत्येक टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाले १–१ प्रतिशत पाउने गरी सम्झौता भएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए।

नेपालमा सञ्चालनमा रहेका ६ वटामध्ये दोस्रो लामो लुम्बिनी केबलकारको टिकट दर नेपालीका लागि ७५० रुपैयाँ र भारतीयका लागि ७५० भारु रहेको छ। केबलकारले प्रत्येक टिकट मूल्यको १–१ प्रतिशत रकम २ वटा स्थानीय तहलाई दिने भएकाले यसबाट बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाको दीर्घकालीन रुपमा विकासमा ठूलो योगदान पुग्ने तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए।