काठमाण्डौ । लुम्बीनी विकास बैँक लिमिटेड देवीघाट शाखाले बैँकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नुवाकोट जिल्लामा अवस्थित विभिन्न विद्यालयहरुमा सहयोग हस्तान्तरण गरको छ। 

बैंकले विदुर नगरपालिका–३ स्थित श्री रणभुवनेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत ५० जना गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई पोसाक वितरण गरेको छ। 

यसैगरी विदुर–५ स्थित श्री शहिद जगत प्रकाश जंग शाह संस्कृत माध्यामिक विद्यालयमा बालकक्षाका विद्यार्थीहरुको शारीरिक, मानसिक एवं बौद्धिक विकासका लागि १ थान खेलकुदको सामग्री र बेलकोटगढी नगरपालिका–८स्थित श्री कल्याणीदेवी माध्यामिक विद्यालयका लागि १ थान कलर प्रिन्टर सहयोग गरिएको बैंकले जनाएको छ।

ती सामग्रीहरु बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले हस्तान्तरण गरेका थिए। 

उक्त सहयोग गरेकोमा श्री रणभुवनेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछाने, श्री सहिद जगत प्रकाश जंग शाह संस्कृत माध्यामिक विद्यालयकी प्रधानाध्यापक मञ्जु चित्रकार र श्री कल्याणीदेवी माध्यामिक विद्यालयका प्रधानाध्यापक बुद्धिप्रसाद पुडासैनीले लुम्बिनी विकास बैँकलाई धेरै–धेरै धन्यवाद व्यक्त गरे। 

ती हस्तान्तरण समारोहमा बैंकका मुख्य प्रबन्धक दिपक खनाल, वरिष्ठ प्रबन्धक भेषराज गौतम, शाखा प्रमुख रमेश कुमार नेपाललगायत विद्यालय व्यवस्थापनका पदाधिकारीहरु, विद्यालयका शिक्षक–शिक्षिका र विद्यार्थीहरुको उपस्थिति थियो।

लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखाहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन्। बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ आफ्ना ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दति खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ।