Gopal Budhathoki
नेपालमा सबैभन्दा ठूलो उद्योग, सबैभन्दा ठूलो व्यापार र सबैभन्दा धेरै कमाई हुने पेसा कुनै छ भने त्यो राजनीति हो । राजनीतिमा भन्दा धेरै कमाई नेपालमा चाहिं अरु कुनै पेशामा हुँदैन भन्ने नेपाली जनताले जान्दैबुझ्दै आएका छन् । जबकि राजनीति पेशा होइन ।
नेपाल राष्ट्रको दुर्भाग्य यथार्थमा चाहिं राजनीतिलाई पेशा होइन महापेशा बनाइँदैछ । राजनीतिबाट कमाउने एउटै उपाय छ–भ्रष्टाचार । विश्वमै सबैभन्दा भ्रष्टको सूचीमा पहिलो नम्बरमा नेता पर्छन् । त्यसपछि कर्मचारी पर्छन् । नेपालमा नेता र कर्मचारी दुवैको मिलेमतोमा भ्रष्टाचार हुन्छ । जसले धेरै भ्रष्टाचार गर्छन् तिनले नै धेरै सदाचारको उपदेश दिएको पनि नेपालमा मात्र देख्न पाइन्छ ।
यो भयो नेता र कर्मचारीका कुरा । नेपालमा सर्वाधिक भ्रष्टका रुपमा दर्ता गर्नैपर्ने अर्काे एउटा वर्ग छ– एनजीओका मालिक । एनजीओमा कोही पनि मालिक हुँदैन किनभने यो सामाजिक संस्थाका रुपमा दर्ता भएको हुन्छ । यथार्थमा चाहिं नेपालका अधिकांश एनजीओ प्राइभेट लिमिटेड जस्ता हुन्छन् । यिनले नेपाल र नेपाली जनताका लागि भनेर विदेशबाट ठूलो रकम ल्याउँछन् र अपारदर्शी ढंगले खर्च गरेको देखाएर खान्छन् । भनिन्छ, नेपालमा भ्रष्टाचार बढाउनमा एनजीओहरुको निर्णायक भूमिका छ । एनजीओमा जति भ्रष्टाचार सरकारी निकायमा समेत हुँदैन भन्ने गरिन्छ ।
हालै एउटा एनजीओको खर्च बिवरण अख्तियारले सार्वजनिक गरेको छ । जसमा सो एनजीओले मदिरापानमा मात्र चालीस लाख रुपैयाँ खर्च गरेको बिवरण छ । ती एनजीओ संचालक महोदयहरु पत्रकारिता तथा मानवअधिकारको खोल ओढेका छन् । तिनको एनजीओको घोटालामा प्रश्न उठाउँदा प्रेस स्वतन्त्रताको हनन हुन्छ, तिनको लुटमा बोल्यो भने मानवअधिकारको खिलाफ हुन्छ । लुट्नु दानव अधिकार हो र लुटको विरोध गर्नु मानवअधिकार हो भन्ने बुझ्नेहरुले धन्दा नै कालोलाई सेतो भन्ने अपनाएपछि कसको के लाग्छ र !
भ्रष्टाचारको कुरा गर्ने हो भने यसलाई रोक्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो तर यो आयोग लगभग प्रभावकारी छैन । आयोगलाई राजनीतिक छायाँमा पारिएको छ । असली भ्रष्ट दलका नेताहरु हुन् तर खरदार सुब्बा समात्नमै यो आयोग मस्त र व्यस्त रह्यो ।
लोकमान सिंह कार्कीले ठूला माछा समाउँछु भन्ने गरेका थिए, उनले ठूलो माछामा हात हाल्न लागेको चर्चा थियो तर त्यो चर्चालाई उछिन्यो उनी विरुद्ध लगाइएको महाभियोगले । लोकमान कति चोखा छन् भन्ने आगामी दिनमा थाहा हुँदै जानेछ तर उनलाई महाभियोग लगाउनेहरु भने अवश्य चोखा छैनन् । नेपालमा भ्रष्टाचारलाई संस्थागत गर्ने पात्रहरु भनेका दलका नेताहरु हुन् । यिनको कठालामा हात पुर्याउने हिम्मत अख्तियारले कहिले गरेन, यदाकदा हिम्मत गर्यो, दुईचारजना खोरमा पनि पुगे तर राजनीतिक आवरणमा मौलाएको भ्रष्टाचार अख्तियारले नियन्त्रण गर्न नसकेकै हो । यसमा लोकमान पनि असफल भएकै हुन् ।
लोकमान विरुद्ध महाभियोग प्रस्ताव ल्याइएको छ । यस्तो प्रस्ताव संवैधानिक अधिकार हो, सांसदहरुले अधिकार प्रयोग गरे, यसमा धेरै अन्यथा भन्न मिलेन । तर, लोकमानलाई हटाउन चाहनेहरुले त्यो ठाउँमा कस्तो पात्र ल्याउन चाहेका हुन् ? यो भने स्पष्ट हुनुपर्छ । लोकमानहरु आउँछन् जान्छन् तर अख्तियार स्थायी संवैधानिक निकाय हो । यसले बसाएको पद्धति र नजिर भविष्य पर्यन्त रहन्छ । लोकमानको ठाउँमा दल र नेताका हनुमान पो ल्याउन खोजिएको हो कि ? प्रश्न गर्ने बेला यही हो र जवाफ दिनुपर्ने पनि अहिले नै हो ।
लोकमानले सबैलाई तर्साए, थर्काए भन्ने आरोप महाभियोग पक्षधरहरुको रहेको छ । लोकमानबाट सर्वसाधारण तर्सिए भन्ने कहिल्यै सुन्न पाइएन । लोकमानबाट इमानदार राजनीतिकर्मीहरु तर्सिएको पनि कहिल्यै सुन्न पाइएन । लोकमानको काम भ्रष्टाचारमा मुद्दा चलाउने थियो, वस्तुत उनको नेतृत्वको आयोगले मुद्दा चलाउने हो । भ्रष्टहरु बाहेक अरुले डराउनुपर्ने कुनै कारण थिएन र छैन ।
ल ठीक छ, लोकमानसंग डर लागेछ । लोकमान हटाइए भने उनको ठाउँमा ल्याइने प्रमुख आयुक्तसंग चाहिं अहिलेका महाभियोग पक्षधरहरु नडराउने हो ? डर नलाग्ने, निश्चिन्त र निर्धक्क हुन पाइने खालको पात्र खोजेर अख्तियारको प्रमुख आयुक्त पदमा राखिन खोजेको हो ? यो जनजनले उठाइरहेको प्रश्न हो । किनभने आम जनतालाई अख्तियार प्रमुख को हुन्छ भन्ने खासै सरोकार छैन, प्रमुखले भ्रष्टहरुलाई कठघरामा उभ्याउँछन् कि उभ्याउँदैनन् भन्ने चाहिं चासो हो ।
अहिलेको महाभियोग प्रकरणमा चिन्तालाग्दो विषय के भने भ्रष्टाचारको सवालमा पनि समाज विभाजित हुने हो कि ? यसो भयो भने परिणाम राम्रो आउँदैन । महाभियोगको अभ्यासले संविधानको गतिशिलता अवश्य प्रमाणित गर्नेछ तर अभ्यास गर्नेहरु ठाउँमा बस्नुपर्ने हुन्छ । सदाचार र असल शासनको उपदेश दिनेहरुले सदाचार पालना गरेका छैनन् भने नैतिक हुँदैन । अहिलेको संसद र सांसदका बारेमा पनि अनेक प्रश्न छन् । केही समय अघि एक दर्जन जति सांसद आफ्ना पीएका नाममा केहीलाई विदेश पठाउने धन्दामा तानिएका थिए ।
सार्वजनिक लेखा समितिलाई भन्सार जस्तो बनाइयो भन्ने आरोप पुरानै हो । संसदीय समितिहरु थर्काएर झार्ने र खाने थलोमा परिणत गरिएको आरोप पनि पुरानै हो । संसद भनेको मुहान हो र सांसद भनेका रोल मोडल हुन् । सांसदहरु नै भ्रष्ट भए भने देशमा भ्रष्टाचार बढ्छ नै । लोकमान महाभियोग प्रकरणकै बेला सांसदहरुले आफ्नो स्वच्छता पनि देखाए कसो होला ? सांसदहरु अनेक भ्रष्टाचार प्रकरणमा गाँसिएका छन्, त्यस्ता प्रकरणको छानविन अबका दिनमा हुन्छ ? प्रश्न पेचिलो छ ।
लोकमान हटाइए भने त्यो ठाउँमा अरु कोही आउँछ । त्यो पदमा बस्ने मानिसको अभाव अवश्य छैन । तर, अख्तियारको कोठाचोटा र दराजमा रहेका विभिन्न राजनीतिक पार्टीका नेताहरुको करोडौं र अर्बौं भ्रष्टाचार छानविनको फायल चाहिं आगामी दिनमा के हुन्छन् ? एनजीओको आडमा भ्रष्टाचार गर्नेहरुको पनि अख्तियारले छानविन गरिरहेको थियो । ती फाइल लोकमानको विदाईसंगै बन्द हुने त होइन ? ती फाइल बन्द गर्ने परिपञ्च मिलाउनकै लागि महाभियोगको रचना गरिएको त होइन ?
लोकमान स्वयंले अख्तियारको दुरुपयोग गरेको प्रमाणित हुन्छ भने उनलाई उन्मुक्ति दिने प्रश्नै आउँदैन तर, लोकमानलाई हटाएर उनको पालामा अगाडि बढेको छानविनका फायल नै बन्द गरिने हो कि ? प्रश्न अनेक छ र यस्ता प्रश्नको जवाफ महाभियोगको समर्थन गर्ने सांसदहरुले जनतालाई दिन ढिला गर्न हुन्न । सबैलाई चेतना भया ।
(सोमबारको साँघु साप्ताहिकबाट साभार ।)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago