रुकुम । उर्जामन्त्रीको रुपमा सरकारमा सहभागी हुँदा लोडसेडिङ हटाएर चर्चा कमाएका माओवादी नेता जनार्दन शर्मालाई मतदाताहरुले अपार समर्थन र साथ दिएका देखिएको छ ।

उनले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निकालिरहेको फराकिलो मतअन्तरको अग्रताले सरकारी सहभागी भएर राम्रो काम गर्नेहरुलाई जनताले साथ दिनेछन् भन्ने समेत देखिएको छ । 

पछिल्लो मतपरिणाम अनुसार रुकुम पश्चिमको प्रतिनिधिसभा सदस्यका माओवादी उम्मेदवार शर्माले १४ हजार ४ सय १२ मत ल्याएका छन् । 

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोपाल शाहले ५ हजार ८ सय २९ मत मात्र ल्याएका छन । कुल २२ हजार ५ सय १५ मत गन्दा शर्मा ८ हजार ५ सय ८३ मतले अगाडि देखिएका हुन् । 

उनको यो शानदार अग्रता लोडसेडिङ हटाएबापत जनताले दिएको पुरस्कारको रुपमा समेत हेरिएको छ । 

दुवै प्रदेशसभामा माओवादी जित
प्रतिनिधिसभा सदस्यमा शर्माले शानदार अग्रता लिइरहेको बेला रुकुम(पूर्व)का दुवै प्रदेशसभामा माओवादी उम्मेद्वारले शानदार जित हासिल गरेका छन् । प्रदेशसभा ‘क’मा माओवादी केन्द्रका तेजबहादुर ओलीले ५ हजार ४२७ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका दुतकुमार पुनले २ हजार १४४ मत ल्याए । 

यस्तै, प्रदेश सभा ख मा नेकपा (माओवादी केन्द्र)का पूर्णबहादुर घर्ती ५ हजार ८१६ विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १११ मत ल्याए ।