काठमाण्डौ । किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको सातौँ संस्करणमा छानिएका उत्कृष्ट किशोरकिशोरीका लागि ५ दिने लामो क्षमता निर्माण कार्यशाला शुक्रबार समापन भएको छ।

देशभरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन यस बर्ष ग्लोकल टिन हिरो नेपाल २०२१ को रणनीतिक साझेदारका रूपमा युरोपेली संघ जोडिएको छ। यसैअन्तर्गत आज किशोरकिशोरीले युरोपेली संघबाट Chargé d’Affaires स्टेफन माइकोनसँग अन्तर्क्रिया गर्ने मौका प्राप्त गरेका हुन्।

देश विकासतर्फ उन्मुख किशोरकिशोरीलाई बधाइ दिँदै स्टेफनले युरोपेली संघले नेपालका लागि गरेका कामहरुका बारेमा जानकारी दिए। उनले युरोप नेपाल सम्बन्धलाई सुदृढ बनाउने लक्ष्य राखेर नेपाल सरकारसँग सहकार्य गरी विभिन्न भूमिकामा कार्यरत गरेको कुरा जानकारी दिए। 

स्टेफनले एसडीजी को २०३० एजेन्डा प्राप्त गर्न को लागी युरोपेली संघ सदैब तत्पर रहेको र यसका लागि युवा शसक्तिकरन आबश्यक रहेको कुरा पनि उल्लेख गरे। उनले सबै किशोरकिशोरीलाई दिगो विकास लक्ष्य हासिल गर्नका लागि आफ्नो पक्षबाट योगदान गर्न आग्रह गरे। त्यसैगरी एक सक्रिय नागरिकका रूपमा जिम्मेवारीलाई पूरा गर्नका लागि जिम्मेवारी पहिचान गरी काम गर्न पनि उनले हौसला प्रदान गरे। 

किशोरकिशोरीबाट आएका प्रश्नका जबाफ दिँदै स्टेफनले युवाहरु परिवर्तनको एजेन्ट रहेको र युवाहरुको सहभागिता लाई बलियो बनाउनका लागि अवाज उठाउन जोड दिए। 

त्यस्तै नेपालमा शिक्षा क्षेत्रलाई सुदृढ बनाउन युरोपेली संघको भूमिकालाई साझा गर्दै उनले नेपालको आर्थिक विकासलगायत प्राविधिक र व्यावसायिक शिक्षालाई ग्रामीण विकासमा टेवा पुर्याउने काम गर्दै आएको र सरकारलाई स्कूल क्षेत्र विकास योजनामा सुधार गर्नका लागि सहयोग गरिरहेको कुरा पनि विश्लेषण गरे। 

अन्ततः ग्लोकलले युरोपेली संघसँगको साझेदारीमार्फत युवा विकासका नवीनतम आयाम सिर्जना गर्नेमा साकारात्मक रहेको उनले बताए।