काठमाण्डौ । नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केटलाई बैशाख १५ गते गरेको जरिवानाको विषयमा भाटभटेनीले प्रष्ट् पारेको छ । 

यो सुपरमार्केटले काठमाडौंको टेकुस्थित काष्ठमण्डप खाद्य उद्योग प्रालिबाट आपूर्ति गरिएको २५० ग्रामको लाखमरी प्याकेटमा बढी मूल्य लिएको भन्दै विभागले जरिवाना गरेको थियो । 

भाटभटेनीले काठमाडौं महानगरपालिका वडा नम्बर १२ स्थित काष्ठमण्डप खाद्य उद्योगबाट विगत लामो समयदेखि नेवार समुदायमा माग हुने लाखमरीलगायत सामान किनेर उचित मूल्यमा आफ्ना आउटलेटमार्फत बिक्री गर्दै आएको प्रष्ट्याएको छ । 

‘भाटभटेनी सुपरमार्केटले आफ्ना आउटलेटमार्फत बिक्री हुने हरेक सामानको मूल्य र स्टकको हिसाबकिताब राख्न बारकोड प्रयोग गर्दै आएको छ । तर उक्त लाखमरीको हकमा लकडाउनबाट उत्पन्न जटिल परिस्थितिका कारण हामीले बारकोडको स्टिकर टाँस्ने जिम्मा सामान आपूर्तिकर्ता काष्ठमाण्डप खाद्य उद्योगलाई नै दिएका थियौं । र, उक्त उद्योगले पनि लकडाउनकै कारण सीमित तथा बारकोडको विषयमा गहिरो जानकारी नभएका कर्मचारीबाट काम गराउँदा २५० र ५०० ग्रामको ५० वटा लाखमरी प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसिन गएको हामीलाई जानकारी गराएको छ ।’ भाटभटेनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ–‘र सोही बारकोड हाम्रो बारकोड रिडरले पहिचान गर्दा कम्प्युटर प्रणालीमा बढी मूल्य देखिन गई विभागले हामीलाई जरिवाना गरेको हो ।’ 

प्राविधिक र कानुनी रुपमा यो गल्ती नै रहेको समेत भाटभटेनीले स्वीकार गरेको छ । ‘तर यो उपभोक्ता ठग्ने अथवा गलत बाटोबाट पैसा कमाउने नियतले नभएको हामी प्रस्ट पार्न चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ–‘हामीले काठमाडौंको नेवार समुदायमा लोकप्रिय एवं उनीहरुका विभिन्न धार्मिक तथा सांस्कृतिक पर्वहरुमा आवश्यक पर्ने वस्तु भएकाले उहाँहरुको माग र भावनालाई सम्बोधन गर्नका लागि मात्र यस्ता वस्तुहरु बिक्री गर्ने गरका हौं ।’ 

विगतमा विनाशकारी भूकम्प र नाकाबन्दीको अप्ठेरो अवस्थामा हामीले आपूर्तिकर्तासँग मोलमोलाइ गर्नुका साथै कम्पनीलाई हुने नाफा कटौती गरेर पनि उपभोक्तालाई साबिकको मूल्यमा सामान उपलब्ध गराएको समेत भाटभटेनीले दाबी गरेको छ । 

‘र आजको मितिमा पनि भाटभटेनीका हरेक आउटलेटमार्फत बिक्री हुने वस्तुहरु अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा कम मूल्यमै पाइन्छन् । साथै हामी अत्यावश्यक खाद्य सामग्रीहरु बजारको भन्दा कम मूल्यमै हाम्रा स्टोरमार्फत बिक्री भइरहको पनि जानकारी गराउन चाहन्छौं ।’ भाटभटेनीले अगाडि भनेको छ–‘हामी आदरणीय उपभोक्ताहरुलाई हाम्रा हरेक स्टोरहरुबाट बिक्री हुने वस्तुको मूल्यको ग्यारेन्टी दिन चाहन्छौं । एक लाख ५० हजारभन्दा बढी फरक मूल्यका वस्तुमध्ये एउटा वस्तुमा मानवीय त्रुटिले गल्ती देखिएको घटनालाई आधार मानेर भाटभटेनीलाई अन्यथा नठान्न पनि हामी आम उपभोक्ता र सरोकारवाला सबैमा आग्रह गर्दछौं ।’